दुलेगौंडा, ९ बैशाख । तनहुँको शुक्लागण्डकी नगरपालिकाले निर्माण गरेको कृषि उपज संकलन तथा विक्रि केन्द्र सञ्चालनमा आएको छ । वडा नं. ५ बेलचौतारामा निर्माण सम्पन्न भई लामो समयसम्म सञ्चालन हुन नसकेको सो केन्द्रको नगर प्रमुख कृष्णराज पण्डितले उद्घाटन गरे ।
सो अवसरमा नगर प्रमुख पण्डितले आगामी वर्षमा बजेटनै राखेर केन्द्रलाई सञ्चालन गर्ने विषयलाई प्राथमिकता राख्ने प्रतिवद्धता जनाए । उनले उत्पादनलाई जोड दिन आग्रह गर्दै बजारको समस्या अब हल हुने विश्वास व्यक्त गरे । कतिपय मुलुकुमा थोरै किसानले कृषिमा लगानी गरि अरु देशमा समेत निर्यात गरेका छन्, उनले अगाडी भने, तर ६०÷६५ प्रतिशतले गरेको लगानीले आफ्नै देशमा समेत नपुगि आयात गर्नुपर्ने अवस्था छ । यसलाई अन्त्य गर्नु जरुरी छ ।
मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रममार्फत कृषि क्षेत्रलाई व्यवस्थित व्यवसायिक र आत्मनिर्भर बनाउने दिर्घकालिन उदेश्यका साथ कृषि उत्पादन प्रोत्साहन तथा बजारीकरणको योजनासाथ खैरेनीटार महिला विकास बहुउदेश्यीय सहकारी संस्थासँगको साझेदारीमा केन्द्र सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले बताए । कृषकसँग उत्पादन बस्तु सहकारी घुम्तीकोष सञ्चालन गरि बजारिकरण समेत गरिने छ । मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम अन्तर्गत १ करोड १० लाख रुपैयामध्य ७५ प्रतिशत ८७ लाख ५० हजार मुख्यमन्त्री कार्यालय र २५ प्रतिशत २७ लाख ५० हजार शुक्लागण्डकी नगरपालिकाले साझेदारी गर्नेछ । मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम अन्तर्गत विभिन्न ७ वटा क्षेत्रमध्य घुम्तिकोषकालोगि २० लाख रुपैया विनियोजन गरिएको छ । सोहि रकमबाट बढिमा २ वटा संस्था छनौट गर्ने कार्यविधि अनुसार खैरेनीटार महिला विकास बहुउदेश्यीय सहकारी संस्थासँग सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिए । उनका अनुसार पहिलो किस्ताबापत ५ लाख रुपैयाँ महिला विकासको खातामा जम्मा गरिएको छ । यसमा १० प्रतिशत महिला विकासले थप गरि रकम जम्मा गर्नुपर्ने छ । कामको प्रगतिको आधारमा दोस्रो किस्ता बाँकी ५ लाख रुपैया समेत पाउनेछन् । सोहि कोषबाट कृषकलाई कृषि उपज खरिद गरेबापत तिर्नुपर्नेछ ।
नगर उपप्रमुख खुम बहादुर विक राजुले ग्रामिण क्षेत्रमा उत्पादित बस्तुको बजारिकरणकालागि अब महिला विकास सहकारीले तालिका मिलाएर कृषि एम्बुलेन्स पठाई केन्द्रमा विक्रिकालागि ल्याउने जानकारी दिए । सहकारीका अध्यक्ष सुर्यदेवी सिग्देलले नगरसँग नजिक हुने मौका मिलेको बताउदै सबैका साथ र सहयोग पाएमा केन्द्र निरन्तर सञ्चालन हुने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा वडा नं. ५ का अध्यक्ष दिर्घ बहादुर थापा, वडा नं. १२ का अध्यक्ष इन्द्र गुरुङ लगायतले बोलेका थिए । उद्घाटनसँगै किसानले स्थानीय उत्पादन विक्रिकालागि ल्याएका थिए । यसअघि गएको वर्ष दशैमा केहिदिनकालागि केन्द्र सञ्चालन गरिएपनि प्रभावरी नभएपछि बन्द गरिएको थियो । चाडपर्वमा केहि खसीबोका किसानले ल्याएर विक्रि गरेका थिए । शुक्लागण्डकी नगरपालिका, गण्डकी प्रदेश र संघीय सरकारको संयुक्त लगानीमा सो विक्रि केन्द्र निर्माण गरिएको हो । पृथ्वीराजमार्गको छेउमै रहेको केन्द्र निर्माणकोलागि २ करोड ३० लाख रुपैयाँ खर्च भएको छ । तत्कालिन नगर प्रमुख किसान गुरुङको कार्यकाल आर्थिक बर्ष २०७७÷७८ को बजेटबाट टेन्डर आह्वान गरि केन्द्र निर्माण गरिएको थियो ।





