शुक्लागण्डकीका तरकारी बजारमा विषादी परीक्षणः अधिकांश तरकारी र फलफुल खानयोग्य

१५ प्रकारका तरकारीको नमूना लिएर विषादी परीक्षण

दुलेगौंडा, १५ पुष । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘वेल इक्युप्ड मोबाइल फुड ल्याब भ्यान’ मार्फत शुक्लागण्डकीका तरकारी बजारमा विषादी परीक्षण गरेको छ ।
विभागले मंगलवार १५ प्रकारका तरकारीको नमूना लिएर विषादी परीक्षण गरेको हो । परीक्षणका क्रममा अधिकांश तरकारी खानयोग्य भेटिएको विभागका खाद्य अनुसन्धान अधिकृत सुशन निरौलाले जानकारी दिए । बजार र किसानका १५ प्रकारका तरकारी नमूनाको परीक्षणमा ३५ प्रतिशत बढिसम्म विषादी भेटिएको बताए । उनले न्यूनतम २ प्रतिशतदेखि ३५ प्रतिशत बढिसम्म ‘इन्जाइम इन्हिभिसन’ पाइएको जानकारी दिए । इन्जाइम इन्हिभिसन ३५ प्रतिशतभन्दा कम भएमा खान योग्य मानिन्छ । १४ वटा नमुना खान योग्य पाइयो, बाँकी १ वटा क्याप्सिकम जफत गरि क्वारेन्टाईनमा राखिएको बताए । उनका अनुसार सो क्याप्सिकम ३ दिनपछि खान योग्य हुने छ । पशु चिकित्सक अशेषराज विकले तरकारी फर्ममा समेत गएर किसानसँग उत्पादन गरिएकोबारे जानकारी लिएको बताए । किसानबाट उत्पादित बस्तुमा परिक्षण गर्दा विषादी प्रयोग नभएको भेटिएको उल्लेख गरे ।

शुक्लागण्डकी नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख नवराज पण्डितले यसपालि किसानबाट आएका तरकारी खान योग्य देखिएपनि नियमित रुपमा सतर्कता अपनाउनुपर्नेमा जोड दिए । उनले किसान, व्यवसायी र उपभोक्ता सबै सचेत भएमा विषादी प्रयोगलाई न्यूनिकरण गर्न सकिने बताए । शुक्लागण्डकीका मुख्य तरकारी बजारमा साग, काउली, गोलभेडा, सुन्तला लगायत नमुना लिएर परिक्षण गरिएको हो ।

Advertisment