सेतीखोला जलविद्युत आयोजनाको परिक्षण उत्पादन शुरु, तल्लो तटिय क्षेत्रमा नदी किनारमा नजान अपिल

दुलेगौंडा, ७ जेठ ।
तनहुँ र कास्कीको सिमानामा निर्माण गरिएको २२ मेगावटको सेतीखोला जलविद्युत आयोजनाले परिक्षण उत्पादन शुरु गरेको छ । आयोजनाको सिभिल, हाइड्रोमेकानिकल तथा ट्रान्समिसन लाइन निर्माणको सम्पूर्ण निर्माण सकिएर अहिले यान्त्रिक परीक्षणको काम भइरहेको आयोजना प्रमुख उज्वल रेग्मीले जानकारी दिए ।
कास्कीको पोखरा महानगरपालिका वडा नं. ३३, पुँडीटार, र तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. २, कोत्रेको सिमानामा रहेको जलविद्युत् आयोजनाको निर्माण कार्यसकिएसँगै परिक्षण उत्पादन शुरु गरिएको हो ।
परीक्षणको क्रममा ड्यायम तथा पावरहाउसबाट नदीमा पानी छाडिने हुँदा सेती नदीको बहाव अचानक र अप्रत्याशित रुपमा बढ्न सक्ने भएकाले परीक्षण अवधिभर नदी किनारमा सर्वसाधारणलाई उच्च सुरक्षा सतर्कता कायम गरिदिन आयोजना प्रमुख रेग्मीले आग्रह गरे । उनले परिक्षण अवधिमा नदी किनारमा नजान, नदीजन्य पदार्थको उत्खनन, नदी तर्ने, पौडी खेल्ने, माछा मार्ने वा पशुचौपाया चराउने कार्य नगर्न र बालबालिकाहरुलाई नदी किनारमा जान नदिन आग्रह गरे । उत्पादित बिजुली लेखनाथ–दमौली १३२ केभी प्रसारण लाईनमा जोडिएको हुदा कोत्रेदेखि एक्लेखेतसम्मका टावरवरपर नजान उनले अपिल गरे । परिक्षणका क्रममा कहिलेकाँहि बढि भोल्टेज वा अन्य कुनै कारणले टावरमा करेन्ट प्रवाह हुन सक्छ उनले भने, त्यसैले टावर नजिक नगई सहयोग गरिदिनुहोला । उत्पादित बिजुली पुडिटाँरमा निर्मित सबस्टेसनमार्फत डेढ किलोमिटर पर रहेको लेखनाथ दमौली १३२ केभी प्रसारण लाईनको टावर नंं ५६ मा राष्ट्रिय प्रसारणमा जोडिएको छ ।
मुसेटुडाँमा बाध निर्माण गरी सेती नदिको पानी तीन हजार दुई सय मिटर लामो भुमिगत सुरुङमार्फ ल्याएर ६८ मिटर उपचाईबाट पुडिटारमा रहेको पावरहाउसमा खसालेर विद्युत् उत्पादन गरिएको छ । पाइपमार्फत लगिएको पानी पावरहाउसमा रहने ११.५ मेगावाट क्षमताका दुईवटा टर्वाइनमा खसालिएको छ । सो आयोजना नदी जलप्रवाहमा आधारित छ । २०७८ बैशाखमा एम.ए. कन्स्ट्रक्सन प्रालिले आयोजना निर्माणको थालनी गरेको थियो । आयोजनाको ५ अर्ब २० करोडमा अनुमानित लागत रहेको छ । निर्माण शुरु भएको सो परियोजना निर्माण सम्पन्न भएसँगै पोखराको वडा नं. २९, ३०, ३३ को तिकलाङ र मुसेटुडाँ क्षेत्रमा ड्याम बनेको छ ।

Advertisment