भिमादमा जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइयो, अन्तरजातीय विवाह गर्ने ७ दम्पती सम्मानित

भिमाद, जेठ २१ — भिमाद नगरपालिकामा जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस विविध कार्यक्रमसहित मनाइएको छ। दिवसको अवसरमा भिमाद नगरपालिका वडा नं. ६ स्थित नेवार समाज भवनमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुका साथै भिमाद नगरपालिका वडा नं. १ देखि ९ सम्मका अन्तरजातीय विवाह गरेका ७ दम्पतीलाई सम्मान गरिएको हो।

अन्तरजातीय विवाहमार्फत समाजमा सहिष्णुता, सामाजिक सद्भाव र समानताको सन्देश प्रवाह गर्न योगदान पुर्याएको भन्दै उनीहरूलाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ। भिमाद नगरपालिकाकी उपप्रमुख शारदा खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख दधिराज सुवेदीले जातीय छुवाछुत नेपाली समाजको सामूहिक समस्या भएको उल्लेख गर्दै यसको अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयनसँगै सामाजिक चेतनाको विकास आवश्यक रहेको बताए। उनले नेपालको संविधानले सबै नागरिकलाई समानताको अधिकार सुनिश्चित गरेको स्मरण गराउँदै जातीय विभेद तथा छुवाछुत जस्ता अमानवीय व्यवहारलाई कुनै पनि अवस्थामा स्वीकार गर्न नसकिने धारणा व्यक्त गरे। कार्यक्रममा वडा नं. ६ का वडाध्यक्ष श्याम सुन्दर जोशीले सहरी क्षेत्रमा जातीय भेदभावका घटना क्रमशः घट्दै गए पनि ग्रामीण क्षेत्रमा अझै विभिन्न स्वरूपमा कायम रहेको बताए। उनले समुदायस्तरमा सचेतना अभिवृद्धि, सामाजिक अन्तरक्रिया तथा शिक्षा विस्तारमार्फत विभेद न्यूनीकरण गर्नुपर्ने आवश्यकता औंल्याउँदै दलित समुदायभित्र पनि आपसी एकता र साझा मुद्दामा सहकार्य आवश्यक रहेको धारणा राखे। त्यस्तै वडा नं. ७ का वडाध्यक्ष प्रकाश श्रेष्ठले दलित समुदायलाई अझै पनि विभिन्न राजनीतिक दलहरूले मतदाताको आधार मात्र ठान्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताए। उनले दलित समुदायको वास्तविक सशक्तीकरण शिक्षा, रोजगारी, नेतृत्व विकास र निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिताबाट मात्र सम्भव हुने उल्लेख गरे। साथै भिमाद नगरपालिका क्षेत्रभित्र छुवाछुत वा जातीय विभेदका घटना भए कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने स्पष्ट पारे। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय विभाग सदस्य विकास सिग्देल, नेपाली कांग्रेस भिमादका सभापति अरविन श्रेष्ठ, दलित अधिकारकर्मी शालिकराम गहतराज, राप्रपा भिमादका अध्यक्ष ध्रुव सुवेदी तथा नेपाल कम्युनिष्ट पार्टी भिमादका नगर उपसंयोजक मनिराज आले लगायतले जातीय भेदभाव राष्ट्रिय समस्याका रूपमा विद्यमान रहेको उल्लेख गर्दै यसले सामाजिक एकता, विकास र समावेशी लोकतन्त्रलाई कमजोर बनाएको बताए। उनीहरूले संविधान, कानुन र सामाजिक अभियानमार्फत विभेदमुक्त समाज निर्माण गर्न सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको धारणा राखे। कार्यक्रममा सहभागीलाई प्रशिक्षण दिँदै दलित अधिकारकर्मी धनबहादुर नेपालीले जातीय विभेदको ऐतिहासिक पृष्ठभूमि, वर्तमान अवस्था, कानुनी व्यवस्था तथा पीडितले न्याय प्राप्त गर्न सक्ने प्रक्रियाका विषयमा जानकारी गराएका थिए। उनले नेपालको संविधान, मुलुकी अपराध संहिता तथा जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ ले छुवाछुतलाई दण्डनीय अपराधका रूपमा परिभाषित गरेको उल्लेख गर्दै विभेदका घटना लुकाउनुभन्दा सम्बन्धित निकायमा उजुरी दिनुपर्नेमा जोड दिए।

कार्यक्रमको समापन गर्दै उपप्रमुख शारदा खनालले समाजका विभिन्न तह र समुदायमा अझै पनि विभेदका विभिन्न रूप विद्यमान रहेको बताइन्। उनले जातीय विभेदसँगै महिला हिंसा, सामाजिक बहिष्करण तथा अन्य प्रकारका असमान व्यवहारसमेत अन्त्य गर्न आवश्यक रहेको उल्लेख गर्दै नगरपालिकाले सबै नागरिकप्रति समान व्यवहार र समावेशी विकासलाई प्राथमिकतामा राखेको बताइन्। कार्यक्रममा वडा नं. ६ की वडा सदस्य कोपिला नेपाली, पूर्व कार्यपालिका सदस्य दिना गोतामे, परिवार सेवा समाज, विश्वकर्मा समाज, मिजार समाज, विभिन्न टोल विकास संस्थाका प्रतिनिधि तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख टेकावती ढकालले गरेकी थिइन् भने स्वागत मन्तव्य कार्यपालिका सदस्य सङ्गीता विकले व्यक्त गरेकी थिइन्।

Advertisment