शुक्लागण्डकीमा एक हप्ते ‘रेडियो भाषा कक्षा’ कार्यक्रम सकियो

दुलेगौंडा, ११ जेठ । तनहुँको शुक्लागण्डकीमा आयोजित एक हप्ते रेडियो भाषा कक्षा’ कार्यक्रम सोमवार सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद शुक्लागण्डकीको आयोजना र शुक्लागण्डकी नगरपालिकाको आर्थिक सहयोगमा भएको तालिममा विभिन्न समुदायका १२ जनाको सहभागिता रहेको थियो । हाल स्थानीय रेडियोबाट गुरुङ, नेवार, मगर र कुमाल समुदायको भाषामा रेडियो कार्यक्रम सञ्चालन भइरहेकोमा तालिमपश्चात अन्य भाषमा पनि कार्यक्रम सञ्चालनमा टेवा पुग्ने विश्वास लिईएको छ ।

आदिवासी जनजातिको भाषा र संस्कृतिको प्रचार प्रसार, संरक्षण र प्रवद्धन गर्ने उदेश्यले आयोजित तालिमको शुक्लागण्डकी नगरपालिकाका कार्यबाहक नगर प्रमुख खुम बहादुर विक राजुले समापन गरे । सो अवसरमा उनले सिकेको विषयलाई निरन्तर अभ्यास गर्नुपर्नेमा जोड दिए । उनले आफ्नो भाषामा विभिन्न माध्यमबाट गरिने प्रसारण र प्रचारले भाषा सिक्न र संरक्षणमा टेवा पुग्ने बताए ।

समन्वय परिषदका सल्लाहकार संयोजक एवम् कार्यपालिका सदस्य खिम बहादुर कुमालले तालिमले रेडियो भाषाको कार्यक्रमलाई निरन्तरता दिन सहयोग पुग्ने विश्वास व्यक्त गरे । तालिमपश्चात सहभागीको ज्ञान र व्यवहारमा ठूलो परिवर्तन आफूले पाएको उल्लेख गरे । नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद शुक्लागण्डकीका सल्लाहकार सुमन आले यस क्षेत्रमा २०७५ सालदेखिनै मातृभाषामा कार्यक्रम गर्न शुरुवात गरिएकोमा अहिले अरु भाषापनि थपिदै गएकोमा खुसी व्यक्त गरे ।

समन्वय परिषदका सहसचिव कुल प्रसाद गुरुङ, अरिदेव नेवा पुचः सेवाा कोषका अध्यक्ष बेल बहादुर श्रेष्ठ लगायतले बोलेका थिए । समन्वय परिषदका अध्यक्ष कुलकुमार कुमालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव एवम् कार्यक्रम संयोजक विर्सना श्रेष्ठले गरेकी थिइन् । सो अवसरमा सहभागीले आफूले सिकेका विषय र अनुभव सुनाएका थिए । तालिममा दिपेन्द्र श्रेष्ठ, राजन उपाध्याय, अस्मिता खनाल, विनोद ढुंगाना, अशोक विश्वकर्मा, हरि खरेलले सहजिकरण गरेका थिए ।
आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान ऐन २०५८ अनुसार सुचिकृत ६० जाति मध्ये शुक्लागण्डकी नगरपालिकामा ८ जाति आदिवासी जनजातिहरु मगर, गुरुङ्ग, नेवार, भुजेल, कुमाल, तामाङ्ग, थकाली र राई समुदायको बसोबास रहेको छ ।

Advertisment