दुलेगौंडा, २३ मंसिर । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले निर्धन संस्था, काठमाण्डौको आयोजनामा तथा शाखा कार्यालय, दुलेगौडाको संयोजनमा दुलेगौडामा “व्यवसायिक बंगुरपालन तालिम” सम्पन्न गरेको छ ।
काठमाण्डौं नक्सालमा केन्द्रीय कार्यालय रहेको सो वित्तिय संस्थाका ३५ जना ग्राहक सदस्यहरुको सहभागितामा मसिंर १४ देखि १६ सम्म तालिम सम्पन्न गरेको दुलेगौडा शाखा प्रमुख शान्ती सापकोटाले जानकारी दिइन् ।
यस सस्ंथाको ग्राहक सदस्य स्वस्तीका परियारको सभापतित्वमा भएको कार्यक्रममा शुक्लागण्डकी नगरपालिका वार्ड नं. ४ का वडा अध्यक्ष शिव कुमार श्रेष्ठले तालिमको उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै वडा अध्यक्ष श्रेष्ठले तालिममा सिकेका कुरा व्यवहारमा लागु गर्न आग्रह गरे ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था ७७ वटै जिल्लाहरुमा शाखा सञ्जाल रहेको नेपालको सबैभन्दा ठूलो लघुवित्त संस्था हो । संस्थाले १८१ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९२ वटा कार्यालयहरुको स्थापना गरी लघुवित्त सेवा प्रदान गरिरहेको छ । संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विनाधितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशील विकास तालिम, वित्तीय साक्षरता, व्यवसायिक साक्षरता र सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आर्थिक, सामाजिक, वौंद्धिक विकास गर्दै आईरहेको शाखा प्रमुख सापकोटाले जानकारी दिइन् । उनका अनुसार संस्थाले अतिदुर्गम स्थानहरुमा पनि शाखाहरु स्थापना गरी ग्राहक सदस्यहरुलाई सीपविकास तालिम प्रदान गर्नुका साथै तालिम लिएका सदस्यहरुलाई आवश्यकतानुसार लगानी समेत गर्दै आईरहेको छ ।





