उपभोक्ता र किसानको सेतु बन्दै हाटबजार

दुलेगौंडा, १ कार्तिक । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा सञ्चालित साप्ताहिक हाटबजार किसान र उपभोक्तालाई सिधै भेट गराउने माध्यम भएको छ ।
शुक्लागण्डकी नगरपालिकाले निर्माण गरेको कृषि उपज विक्रि तथा संकलन केन्द्र गएको बैशाखबाट सञ्चालनमा आएको हो । दशैलाई मध्यनजगर गर्दै केहिदिनअघि सो क्षेत्रमा किसानले खसि विक्रि गरेका थिए । असार र साउनको तुलनामा असोज महिनामा किसानको उपस्थिति घट्दै गएको शुक्लागण्डकी नगरपालिका कृषि विकास शाखा प्रमुख दिपकुमार उपाध्यायले जानकारी दिए । उनका अनुसार विक्रिकालागि आएका किसान दर्ता गरेर राख्ने गरिएको छ । अधिकतम ६० जनासम्म किसान एकै दिन आएर विक्रि गरेर गएका छन्, उपाध्यायले भने, गाउँघरमा धेरै उत्पादन भई खेल जाने भएकाले विक्रिकालागि ल्याएका हुन, नियमित रुपमा आउने किसान थोरै छन ।’
उनले हिउदकोबेला उत्पादन बढाउनुपर्नेमा जोड दिए ।
छिर्ने वित्तिकै तरकारीको मुल्य सुचि राखिएको छ । सोहि अनुसार किसानले विक्रि गर्नुपर्ने छ । हाटबजारमा स्थानीय, रैथाने तथा व्यावसायिक उपजहरु विक्रिकालागि ल्याउने गरिएको छ । शुनपा–१० का किसान सुरेन्द्र पौडेलले नियमित रुपमा आफ्ना उत्पादित बस्तुहरु विक्रिकालागि ल्याउने गरेका छन् । उनले व्यवसायिक रुपमा तरकारी खेती गरेका छन् ।
किसानले उत्पादन गरेका कृषिउपज सामग्रीसहित घरेलु तथा हस्तकलामार्फत उत्पादन गरेका सामग्री हाटबजारमा बिक्री हुदा उपभोक्ताले ताजा र गुणस्तरीय सामग्री सहुलियत शुल्कमा पाएको शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले बताए । उनले हाटबजार देखिएका समस्यालाई सुधार र व्यवस्थित गरिदै लैजाने उल्लेख गरे ।
हाटबजार परिसरमा शौचालय निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।साथै सुरक्षालाई ख्यालगर्दै सीसीक्यामेरा जडान गरिएको छ । मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रममार्फत कृषि क्षेत्रलाई व्यवस्थित व्यवसायिक र आत्मनिर्भर बनाउने दिर्घकालिन उदेश्यका साथ कृषि उत्पादन प्रोत्साहन तथा बजारीकरणको योजनासाथ खैरेनीटार महिला विकास बहुउदेश्यीय सहकारी संस्थासँगको साझेदारीमा केन्द्र सञ्चालन गरिएको हो । संस्थाकी अध्यक्ष सुर्यदेवी सिग्देलले सहकारीले आइतवारबाहेक अन्य दिनमा किसानका उपज खरिद गरि विक्रि गर्दै आएको जानकारी दिईन् । उनले सहकारीमार्फत आफ्ना सदस्यहरुलाई उत्पादनमा लाग्न प्रेरित गरिहरहेको बताईन् ।
शुक्लागण्डकी नगरपालिका, गण्डकी प्रदेश र संघीय सरकारको संयुक्त लगानीमा सो विक्रि केन्द्र निर्माण गरिएको हो । पृथ्वीराजमार्गको छेउमै रहेको केन्द्र निर्माणकोलागि २ करोड ३० लाख रुपैयाँ खर्च भएको छ । तत्कालिन नगर प्रमुख किसान गुरुङको कार्यकाल आर्थिक बर्ष २०७७÷७८ को बजेटबाट टेन्डर आह्वान गरि केन्द्र निर्माण शुरु गरिएको थियो ।






