रेडियो ढोरबाराहीको विचार गोष्ठी, टुकादेवीलाई सम्मान

दुलेगौंडा, ४ साउन । रेडियो ढोरबाराहीले विचार गोष्ठी सहितको १५ औँ ढोरबाराही उत्सव मनाएको छ । स्थापना भएको १५ बर्ष पुरा भएको अवसरमा रेडियोले दुलेगौडामा ‘आजको सन्दर्भमा रेडियो’ विषयमा विचार गोष्ठी सम्पन्न गरेको हो । गोष्ठीमा शुक्लागण्डकी नगरपालिका नगर प्रमुख कृष्णराज पण्डितले मिथ्या सुचनाको बाढीमा रेडियो नागरिकको विस्वसनीय स्रोत बन्न सफल भईरहेको बताए । उनले समाचार सम्प्रेषण छिटो गर्ने बहानामा गलत सुचना फैलाउने क्रम पनि बढ्न थालेकाले गम्भिर समिक्षा हुनुपर्नेमा जोड दिए । पण्डितले स्थानीय तहले स्थानीय सञ्चार माध्यमहरुलाई प्राथमिकता दिदै आएको जानकारी दिदै खोज पत्रकारितामा जोड दिन सञ्चाकर्मीहरुलाई आग्रह गरे ।
नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपि अधिकारीले सञ्चार माध्यमहरु धरासायी बन्दै गईरहेको अवस्थालाई चिर्न स्थानीय सरकारले अभिभावकत्व ग्रहण गर्नुपर्ने, आवश्यकता अनुसार सञ्चार संस्थाहरु मर्ज हुनुपर्ने, सञ्चार माध्यमहरु विचको सहकार्यलाई बढाउनुपर्नेमा जोड दिए । उनले सरकारले समेत सञ्चार माध्यमहरुको विकासमा सहयोगी भूमिका नखेलेको गुनासो गर्दै सकरात्मक भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे ।
कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टी शुक्लागण्डकीका सभापति हरि खड्का, नेकपा शुक्लागण्डकीका संयोजक शरण सापकोटा, राष्ट्रिय प्रजातन्त्र पार्टी शुक्लागण्डकीका अध्यक्ष ऋषेश्वर भुवाई लगायतले रेडियो परिवर्तित समयसँग परिमार्जन गरि चल्नुपर्ने विचार ब्यक्त गरे । उनीहरुले रेडियोको प्रशारणले स्रोतामुखी बनाउदै विस्वास बृद्धि गरेर अघि बढ्न सक्नुपर्ने सुझाव दिएका थिए ।
कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानको सदस्यमा नियुक्त भएकोमा रेडियोका साहित्यीक कार्यक्रम प्रस्तोता टुकादेवि पौडेल आचार्यलाई नगद १० हजार राशी र सम्मानपत्रसहित सम्मान गरिएको थियो । पौडेल तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित शुक्लागण्डकी एफ.एम. ९७.६ मेगाहर्जका तत्कालिन अध्यक्ष पूर्ण कुमार श्रेष्ठको स्मृतिमा स्थापित पूर्ण स्मृति शुक्लागण्डकी एफ.एम. सम्मान तथा पुरस्कार–२०८२ बाट समेत सम्मानित भएकी छिन् ।
रेडियो प्रशारण उपसमितिका संयोजक ज्ञानप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बार्षिक प्रतिवेदन सचिव फणिन्द पौडेलले प्रस्तुत गरेका थिए भने स्वागत उपाध्यक्ष खेमराज खनाल र कार्यक्रम सञ्चालन स्टेशन म्यानेजर अशोक विश्वकर्माले गरेका थिए ।






