शुक्लागण्डकीमा मातृ तथा बाल स्वास्थ्य पुस्तिका प्रयोग सुरु

दुलेगौंडा, २५ भदौ । तनहुँको शुक्लागण्डकी नगरपालिकामा मातृ तथा बाल स्वास्थ्य पुस्तिका प्रयोग सुरु भएको छ । पुस्तिकाको प्रभावकारी कार्यान्वयनका लागि पैरवी तथा शुभारम्भ कार्यक्रम बुधवार नगरपालिकामा सम्पन्न भयो ।

जाइका नेपालको सहयोगमा सञ्चालित नेपाल मातृ तथा बाल स्वास्थ्य पुस्तिका परियोजना अन्तर्गत कार्यक्रम आयोजना गरिएको हो । यो परियोजना गण्डकीका ६ र लुम्बिनीका ३ पालिका गरि कुल ९ पालिकामा पाइलट कार्यक्रमको रुपमा शुरु भएको हो ।
गर्भावस्थादेखि सुत्केरी तथा नवजात शिशुको स्वास्थ्यसम्बन्धी विवरण व्यवस्थित रूपमा अभिलेख राख्ने र आवश्यक स्वास्थ्य सेवा समयमै उपलब्ध गराउने उद्देश्यले पुस्तिका प्रयोगमा ल्याइएको हो । परियोजना अन्तर्गत दुई दिन स्वास्थ्यकर्मी र एक दिन यस क्षेत्रका ५६ जना महिला स्वास्थ्य स्वयमसेविकलाई तालिम दिईने छ । यसपछि पुस्तिका प्रत्येक स्वास्थ्य संस्थाहरुमा पुगि कार्यान्वयन हुने छ ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालय गण्डकी चिकित्सा महाशाखा प्रमुख डा.रमेश केसीले पुस्तिकाको प्रभावकारी प्रयोगले गर्भवती महिला तथा बालबालिकाको स्वास्थ्य अवस्थाको नियमित अभिलेख राख्न र आवश्यक सेवा समयमै उपलब्ध गराउन सहयोग पुग्ने बताए ।
शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले मातृ तथा बाल स्वास्थ्यलाई प्राथमिकतामा राख्दै स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधार गर्नुपर्ने उल्लेख गे । नगर उपप्रमुख खुम बहादुर विक राजु, प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँ प्रमुख अमर दवाडी, स्वास्थ्य शाखा प्रमुख डिवी थापा लगायतले बोलेका थिए । कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधी, कर्मचारी र सञ्चारकर्मीको सहभागिता रहेको थियो ।






