दुलेगौंडा, १५ भदौ । कमलाघाट शव दहन गृह निर्माण समिति शुक्लागण्डकी–४, पुल्चोकको नेतृत्वकोलागि मतदान हुने भएको छ । अध्यक्ष र सचिवमा दुई÷दुई जनाले दाबी गरेपछि आगामी भदौ १९ गते निर्वाचन तोकिएको निर्वाचन समिति संयोजक पदम प्रसाद लामिछानेले जानकारी दिए । अध्यक्षमा निर्वतमान अध्यक्ष शंकर बहादुर कार्की र सहसचिव थमन बहादुर खत्रीले पुनः दाबी गरेपछि निर्वाचन हुने पक्का भएको हो । साथै सचिवमा जगदिश गौतम र चन्द्र बहादुर थापाले दाबी गरेका छन् । निर्वाचन समिति संयोजक लामिछानेको अनुसार भदौ १९ गते विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म राधाकृष्ण मन्दिर पुल्चोकमा मतदान हुने छ ।
आइतवार उपाध्यक्षमा इश्वरी माया कायस्थ, कोषाध्यक्षमा ध्रुव कुमार मल्ल, सहसचिवमा मन बहादुर श्रेष्ठ सर्वसम्मत भए । सदस्यहरुमा इश्वरी भण्डारी, लालुमाया ढुंगाना, नरेश बस्नेत, गोमाया थापा, हेम बहादुर नेपाली, राम बहादुर भण्डारी, शम्भु बहादुर राना, यम प्रसाद काफ्ले रहेका छन् ।
यसअघि चौथो वार्षिक साधारणसभाको आइतवार शुक्लागण्डकी नगरपालिकका नगर प्रमुख कृष्णराज पण्डितले उद्घाटन गरे । सो अवसरमा उनले शुक्लागण्डकीका नदि छेउका घाटहरु व्यवस्थित हुदै गएको बताउदै आर्थिक संकलन भन्दा पनि सेवाको दृष्टिले काम गर्न आग्रह गरे । समितिका अध्यक्ष शंकर बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. ४ का अध्यक्ष राज कुमार वाग्ले, सल्लाहकार एवम् पूर्व अध्यक्ष शिव कुमार श्रेष्ठ, पूर्व अध्यक्ष पदम प्रसाद लामिछाने, समाजसेवी मोती प्रसाद पौडेल लगायतले बोलेका थिए । कार्यक्रममा सहसचिव थमन बहादुर खत्रीले सचिवको र कोषाध्यक्ष नारायण प्रसाद शर्मा मरासेनीले कोषाध्यक्षको प्रतिवेदन पेश भएकोमा छलफलपछि पारित भएको थियो । कार्यक्रममा स्वागत उपाध्यक्ष इश्वरी माया कायस्थले गरेकी थिइन् । समितिले गत आर्थिक वर्षमा ४० शव दहन गरेकोमा ३ वटा निशुल्क गरेको सो अवसरमा जानकारी दिइयो ।





