दुलेगौंडा, ३१ असार । शुक्लागण्डकी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ कोलागि १ अर्ब १४ करोड ५० लाख रुपैयाको बजेट पारित भएको छ ।
बुधवार नगर परिसरमा सम्पन्न १९ औं अधिवेशनबाट सो बजेट पारित भएको हो । नगरले चालु आर्थिक बर्ष २०८२÷०८३ मा १ अर्ब २८ करोड २८ लाख ८९ हजार ९९७ रुपैयाँको बजेट ल्याएको थियो । आर्थिक वर्ष २०८१÷८२ मा १ अर्ब १२ करोड ३९ लाख रुपैयाको बजेट ल्याई कार्यान्वयन गरेको नगरले सोहि हाराहारीमा घटाएर ल्याएको हो । अस्वभाविक आन्तरिक आम्दानीको प्रक्षेपण गरि बढाइएको बजेटमा ५० प्रतिशत भन्दा कम आन्तरिक आय भएको छ । बुधवार दिउँसोसम्म १३ करोड ५० लाख हाराहारीमा राजश्व संकलन भएको नगरले जनाएको छ ।
आगामी आर्थिक वर्षमा नगरले ३० करोड ८० लाख ५१ हजार रुपैया आन्तरिक आय हुने प्रक्षेपण गरेको छ । जबकी आर्थिक वर्ष २०८१÷८२ मा शुक्लागण्डकीले १५ करोड रुपैयाँ आन्तरिक आम्दानीको प्रक्षेपण गरेकोमा मुस्किलले १३ करोड संकलन भएको थियो । साथै संघीय सरकार समामनीकरण अनुदान १४ करोड ६० लाख, संघीय सरकार राजश्व बाँडफाँडबाट १२ करोड ३८ लाख, संघीय सरकार शसर्त अनुदान ४६ करोड ४३ लाख, संघीय सरकार विशेष अनुदान १ करोड ४० लाख, संघीय सरकार समपुरक अनुदान १ करोड ३५ लाख, गण्डकी प्रदेश सरकार समानीकरण अनुदान १ करोड ९३ लाख ५४ हजार, प्रदेश सरकार राजश्व बाँडफाँड १ करोड ५९ लाख ७६ हजार, प्रदेश सरकार समपुरक अनुदान ६० लाख, प्रदेश सरकार विशेष ४० लाख रुपैया प्राप्त हुने अनुमान छ ।
आर्थिक वर्ष २०८३÷०८४ मा व्ययतर्फ नगरपालिकाले पूर्वाधार विकासतर्फ १० करोड ११ लाख रुपैयाँ विनियोजन गरेकोे उपप्रमुख खुम बहादुर विक राजुले जानकारी दिए । उनका अनुसार नगर स्तरीय विषयगत समितिमा २१ करोड ४३ लाख ९८ हजार, आर्थिक विकासमा १ करोड ५९ लाख ४७ हजार, सामाजिक विकासतर्फ ७ करोड ३१ लख १ हजार, वन वातावरण तथा विपद व्यवस्थापमा १ करोड ५२ लाख ५० हजार, सुशासन तथा मान संशाधन विकासमा ७९ लाख, १२ वटै वडाको सिलिङ ९ करोड २५ लाख ७४ हजार ५ सय र जनसहभागितामा १ करोड ५० लाख रुपैया विनियोजन गरिएको छ । नगरसभामा नगर प्रमुख कृष्णराज पण्डितद्धारा पेश भएका विधिन्न विधेयक पारित भएको प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले जानकारी दिए । नगरसभा नगरका अधिकांश कर्मचारीले बहिष्कार गरेका थिए । नियमित रुपमा पाउदै आएको स्थानीय भत्ता कटौटी गरिएको भन्दै कर्मचारीले सभा बहिष्कार गरेका हुन ।





