दुलेगौंडा, २९ असार । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरि मनाईदै छ । वि.सं. १८७१ असार २९ गते जन्मिएका आदिकवि भानुभक्त आचार्यले नेपाली भाषामा रामायण अनुवाद गरेर साहित्यलाई जनताको पहुँचमा पु¥याएका कारण उनी नेपाली भाषा र साहित्यका अमर विभूतिका रूपमा सुपरिचित छन् ।
उनका कृतिले नेपाली भाषाको विकासमा पु¥याएको योगदान आज पनि उत्तिकै सान्दर्भिक मानिन्छ । नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविका रूपमा परिचित भानुभक्त वाल्मीकि रामायणका अनुवादक पनि हुन् । धनञ्जय आचार्य र धर्मावतीदेवीका पुत्रका रूपमा उनको जन्म तनहुँ जिल्लाको चुँदी रम्घामा भएको थियो ।
संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीको भावानुवादसहित ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठुलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।
भानु जन्मजयन्तीको अवसरमा आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुदीँमा असार २७ देखि २९ गतेसम्म विविध कार्यक्रम आयोजना गरिएको छ । भानु जयन्तीको अवसरमा भानु जन्मस्थल विकास समिति र भानु नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा उत्कृष्ट हुनेलाई आज पुरस्कार वितरण गरिदैछ ।





