भिमाद, तनहुँ, असार २७। नेपाल मोबाइल व्यवसायी महासंघको पाँचौँ स्थापना दिवसका अवसरमा भिमाद मोबाइल तथा इलेक्ट्रोनिक्स संघको आयोजनामा आज भिमाद नगरपालिका–६, लखनचोकमा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी कास्कीको प्राविधिक सहयोगमा आयोजित उक्त कार्यक्रमबाट ४७ पिन्ट रगत संकलन भएको आयोजक संस्थाका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिएका छन्। भिमाद नगरपालिकाका नगर प्रमुख दधिराज सुवेदीले पहिलो रक्तदाता सञ्चारकर्मी शालिकराम गहतराजलाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख सुवेदीले रक्तदान मानव जीवन बचाउने सबैभन्दा उच्चतम र पुण्य कार्य भएकाले स्वस्थ नागरिकले नियमित रूपमा रक्तदान गर्नुपर्ने बताए। कार्यक्रममा विभिन्न संघ–संस्था, व्यवसायी, जनप्रतिनिधि, सञ्चारकर्मी, सुरक्षाकर्मी तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा हेल्पिङ ह्याण्ड्स भिमाद सहआयोजकका रूपमा सहभागी रहेको थियो। आयोजकले रक्तदान कार्यक्रममा सहभागी भई रगतदान गर्ने सबै रक्तदाता, सहयोगी संस्था तथा कार्यक्रम सफल बनाउन प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरेको छ।
मोबाइल व्यवसायी महासंघको पाँचौँ स्थापना दिवसका अवसरमा भिमादमा खुला रक्तदान कार्यक्रम, ४७ पिन्ट रगत संकलन
२७ असार २०८३, शनिबार





