दुलेगौंडा, ८ माघ । दुर्घटनापछि फरार रहेको सवारी पत्ता नलागेपछि पिडित पक्षले इलाका प्रहरी कार्यालय बेलचौताराको ध्यानाकर्षण गराएको छ ।
कार्यालय परिसरमा पिडित पक्षसहित जनप्रतिनिधी, राजनितिक पार्टीका प्रतिनिधी, नागरिक समाजसहितको टोलीले शुक्रवार कार्यालय प्रमुख प्रहरी निरिक्षक ज्ञान बहादुर खड्काको ध्यानाकर्षण गराउदै दोषीलाई कार्वाहीको माग गरे । उनीहरुले प्रभावकारी अनुसन्धान गरि फरार सवारीलाई चाडो पक्राउ गर्न आग्रह गरे । गएको पुष २३ गते पृथ्वीराजमार्ग अन्तर्गत शुक्लागण्डकी–५ बेलचौतारास्थित ब्राइटचोकमा राती ११ बजे ग १३ प ५०६७ नंं. को स्कुटरलाई नं नखुलेको सवारीले ठक्कर दिदा वडा नं. ७ का ३१ वर्षिय स्कुटर चालक शंकर शर्मा गम्भिर घाइते भएका थिए । हाल उनको पोखराको मेट्रोसिटी हस्पिटलमा उपचार भइरहेको छ । उनको खुट्टा भाचिएको छ ।
घाइते शंकरकी आमा वशुन्धरा शर्माले प्रहरीले फरार सवारीको खोजीमा तदारुकता नदेखाएको भन्दै आक्रोश पोखिन् । उनले राजमार्गमै दुर्घटना हुदासमेत हालसम्म कुनै पनि सवारीलाई पक्राउ गर्न नसक्नुले अनुसन्धानमाथिनै प्रश्न उठाईन । रातको समयमा भएको दुर्घटनामा सीसी क्यामारामा समेत कस्तो सवारीले ठक्कर दिएको भन्ने प्रष्ट नदेखिएको प्रहरी निरिक्षक खड्काले प्रष्ट पारे । उनले दुर्घटना भएको ७÷८ मिनेट भित्र प्रहरी पुगेर घाइतेलाई अस्पताल पु¥याएको जानकारी दिदै घट्नाबारे अनुसन्धान भइरहेको जानकारी दिए । हामीले दुर्घटना भएपश्चात हाम्रोतर्फबाट सिसी क्यामरा र सवारी कार्यालय पोखराबाट सवारी दर्ताको रेकर्ड मगाएको बताउदै अनुसन्धानमा सहयोगी भूमिका खेल्न सबै पक्षलाई अपिल गरे । उनले आफूहरु कसेको दबाब र प्रभावमा नपरि जिम्मेवारी निर्वाह गरिरहेको उल्लेख गरे ।





