खैरेनीटार–भिमाद सडक खण्ड अवरुद्ध हुने

दुलेगौंडा, २७ मंसिर । खैरेनीटार–भिमाद सडकखण्ड समय समयमा बन्द हुने भएको छ । हाल सडक स्तरोन्नतीको काम चलिरहेकाले विहान ८ देखि ५ बजेसम्म आवश्यकता अनुसार करिव १ घण्टा बन्द हुने भएको हो । सडक डिभिजन कार्यालय दमौलीले आइतवार सुचना जारी गर्दै निर्माण कार्य गर्दा दुर्घटना हुन सक्ने सम्भावना भएकाले आवश्यक सुरक्षाकालागि बन्द गरेर निर्माण गर्न लागिएको जनाएको हो । सुचनामा एक पटकमा १ घण्टा सडक बन्द गरि आधी घण्टा सडक सुचारु गरिने उल्लेख छ । स्तरोन्नतीको क्रममा हाल दोभानको भिरमा सडक चौडा पार्ने कार्य चलिरहेको छ ।

सडक डिभिजन कार्यालय दमौलीले खैरेनीटारदेखि साढे ५ किलोमिटर भिमादतर्फको स्तरोन्नतीको जिम्मा लिएर काम भइरहेको निमित्त डिभिजन प्रमुख कल्याण खड्काले जानकारी दिए । एमएस महालक्ष्मी हिमाली जेभी काठमाडौंले ७ करोड ४५ लाख २१ हजार रुपैयामा सक्नेगरि गएको बैशाख १३ गते सम्झौता गरेको हो । सो कार्य आगामी २०७९ साल कार्तीक १३ गतेसम्म सम्पन्न गर्नुपर्ने छ । खैरेनीटार–भिमाद खण्डका विभिन्न स्थानमा पिच भत्किएर जिर्ण भएको छ । पानी पर्दा हिलो र घाम लाग्दा धुलो उड्ने गरेको छ । सो खण्डको कतिपयस्थानमा साँघुरो हुदा चार पाङ्ग्रे सवारी दुइतर्फि आवतजावतमा समेत समस्या हुदै आएको थियो । सडक चौडाई र पिच हुने भएपछि सहज हुने विश्वास गरिएको छ । खैरेनीटार–भिमादसम्मको दुरी कुल ७ किलोमिटर छ । साढे ५ किलोमिटर स्रनोन्नती भएपछि डेढ किलोमिटर बाँकी रहने कार्यालयले जनाएको छ । हाल शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका खण्डमा सडक चौडाई हुने छ ।

Advertisment