खबर

जनगणनाको तयारी तत्काललाई स्थगित, नयाँ आवदेखि शुरु गरिने

By Meropati
२०८३ अशोज ४, आइतवार
जनगणनाको तयारी तत्काललाई स्थगित, नयाँ आवदेखि शुरु गरिने

दश वर्षपछि शुरु हुन लागेको राष्ट्रिय जनगणना कार्यक्रम कोरोना भाइरस (कोभिड १९) महामरीका कारण स्थगित भएको छ । कार्यतालिका अनुसार तालिम गोष्ठी लगायत प्रत्यक्ष जनतासँग सम्पर्क हुनुपर्ने कार्यक्रम भएकाले तत्कालका लागि स्थगित गर्ने निर्णय भएको तथ्याङक विभागका जनगणना शाखा प्रमुख डुण्डीराज लामिछानेले बताउनुभयो ।

जनगणनाका सबै काम तत्कालका लागि रोक्ने मन्त्रीपरिषद्ले निर्णय गरेको तर औपचारिक रुपमा विभागमा पत्र आइ नपुगेको लामिछानेले बताउनुभयो । हाललाई स्थगित भए पनि कोरोना संक्रमणको अवस्थालाई हेरेर कार्यतालिका बनाएर काम अघि बढाउने उहाँले जानकारी दिनुभयो । तर चालु आर्थिक वर्षमा सम्भावना कम रहेकाले आर्थिक वर्ष २०७८÷०७९ देखि शुरु गर्ने विभागको लक्ष रहेको उहाँले भन्नुभयो । बैसाख १५ गते देखि सुपरिवेक्षकहरुका लागि तालिम दिन शुरु गरेको थियो भने यो तालिम पनि स्थागित भएको छ । कार्यतालिका अनुसार बैसाख २६ गते देखि देशैभरका ४३ हजार गणकहरुलाई तालिम दिने तयारी थियो ।

१० वर्षपछि हुने जनगणना कार्यक्रम मात्र नभएर राष्ट्रिय पर्वको रुपमा लिए पनि तथ्याङक विभागले कार्यक्रमलाई अघि बढाउन नसकेपछि सरकारसँग स्थागित गर्ने प्रस्ताव लगेको राष्ट्रिय योजना आयोगका उपसचिव दिवाकर लुइँटेलले बताउनुभयो । गणकलाई तालिम दिएपछि तत्कालै जेठ २५ देखि फिल्डमा पुगेर असार ८ गतेसम्म गणना शुरु गर्ने कार्यतालिका थियो । विभागले जनगणनाका लागि करिव ८५ प्रतिशत काम सम्पन्न गरिसकेको जनाएको छ ।

0 SHARES
सेयर गर्नुहोस्: