मुख्य खबर

वडाध्यक्षको सहकारीले बचत फिर्ता नदिएपछि बचतकर्ताको बिल्लीबाठ

By Meropati
१२ घण्टा अघि
वडाध्यक्षको सहकारीले बचत फिर्ता नदिएपछि बचतकर्ताको बिल्लीबाठ

विनोद ढुंगाना

तनहुँ– फिरफिरे कृषि सहकारी संस्था लिमिटेडले बचत रकम फिर्ता नगर्दा बचतकर्ताको बिल्लीबाठ भएको छ । बर्षौदेखि जम्मा गरेको रकम फिर्ता नपाएपछि बचतकर्ता समस्यामा परेका हुन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ ढोर लामागाउँ प्रधान कार्यालय उल्लेख भएको सहकारीले दुलेगौंडा बजारमा सम्पर्क कार्यालय खोलेर चलाइरहेको छ । यो सहकारीका अध्यक्ष शुक्लागण्डकी नगरपालिका–१२ का वडाध्यक्ष इन्द्र गुरुङ हुन् । नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित गुरुङ बोलीमा आदर्शका गफ छाँट्छन् । तर, व्यवहारमा भने सर्वहारा, मजदुर, किसान र श्रमिकहरुले बचत गरेको रकम फिर्ता गर्न हुन्छ, हुन्छ… भनेर मात्रै ढाँट्छन् ।

बचतकर्ता यतिसम्म समस्यामा छन् कि सहकारीले बचत फिर्ता नदिएपछि ऋण खोजेर उपचार गराउन बाध्य छन् । शुक्लागण्डकी नगरपालिका–११ का डोलराज शाहीले श्रीमति हिरादेवीको नाममा ३ लाख रुपैयाँ बचत गरेका थिए । १ लाख रुपैयाँ बचत रकम बल्लतल्ल फिर्ता लिए । तर, बाँकी रकम पाउने टुंगो छैन ।

३ लाख रुपैयाँको ब्याज र साँवा २ लाख रुपैयाँ फिर्ता लिन उनलाई फलामको च्यूूउरा चपाएसरह भएको छ । पटक–पटक बचत फिर्ता माग्दा पनि सुनवाई नभएको उनले बताए ।  ‘कुरा गर्दा दिन्छु भन्छन् । अब कहिले हो कहिले दिने त ?’, डोलराज भन्छन्, ‘एक बर्ष काट्यो फिर्ता मागेको  । बिरामी भएर उपचारका लागि माग्दा पनि दिएनन् । ऋण खोजेर उपचार गनूप¥यो ।’ सहकारीका अध्यक्षसमेत रहेका वडाध्यक्षले हुन्छ मात्रै भनेर आश्वासन दिएको उनले बताए । तर, बचत फिर्ता दिने कहिले हो टुंगो नहुदाँ साह्रै समस्यामा परेको बताए ।

अर्का एक बचतकर्ताले ऋण फिर्ता आएपछि दिन्छु भनेर आश्वासन दिने गरेको बताए । तीन बर्षदेखि नै सहकारी संकटग्रस्त भएको ती बचतकर्ताको भनाई छ । भनेको बेलामा त्यतिबेलादेखि नै रकम फिर्ता नपाएको उनले बताए ।

सहकारी स्रोतका अनुसार ठूला बचतकर्ताको रकम फिर्ता गर्न समस्या रहेको छ । ‘थोर–थोरै बचत ऋण उठाउदैं फिर्ता गर्नुपर्ने अवस्था छ’, स्रोत भन्छ । स्रोतका अनुसार ठूला बचतकर्ताको रकम फिर्ता गर्नलाई अध्यक्ष इन्द्र गुरुङ नेतृत्वको टिम नै लाग्नुपर्नेछ । तर, वडाध्यक्ष गुरुङ कानमा तेल हालेर बचतकर्तालाई भोली भनेर टारीरहेको अवस्था हो ।

सहकारी अहिले निकै भद्रगोल अवस्थामा छ । कति बचत फिर्ता गर्नुपर्ने हो र ऋण कति उठाउन बाँकी छ सहकारीमा कार्यरत कर्मचारीलाई नै थाहा छैन । कर्मचारीले आफ्नो पारिश्रमिक आफैं उठाएर खानुपर्नेछ ।
सहकारीका अध्यक्ष इन्द्र गुरुङले साना बचतकर्तालाई रकम फिर्ता गरिरहेको बताए । ‘साना–साना बचतकर्तालाई आफैंले दिएको छु । ठूला ऋण नउठेकाले ठूला बचतकर्ताको हकमा समस्या भएको हो’, उनले भने । उनले टिमले काम नगर्दा समस्या आएकोसमेत सुनाए । सकेको समस्या समाधान गर्दैै जाने उनको भनाइ छ । उनैका अनुसार सहकारीको रकम जग्गामा लगानी गरेपछि समस्या भएको हो ।

0 SHARES
सेयर गर्नुहोस्: