शुलभ बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधारण सभा सम्पन्न

दुलेगौंडा, ४ असोज । शुलभ बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शुक्लागण्डकी–०६, खैरेनीटारको १९ औँ वार्षिक साधारण सभा आइतवार खैरेनीटारमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष रेशमलाल पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष दुर्गाकुमार श्रेष्ठले संस्थाको नयाँ कार्यविधिसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । कोषाध्यक्ष रेशम बहादुर विकले आर्थिक वर्षको आम्दानी, खर्च तथा बजेटसम्बन्धी विवरण प्रस्तुत गरे ।
लेखा सुपरिवेक्षण समिति संयोजक नारायणदत्त अधिकारीले आन्तरिक लेखा तथा सुपरिवेक्षणसम्बन्धी प्रतिवेदन प्रस्तुत गरे । व्यवस्थापक मदन श्रेष्ठले संस्थाका समसामयिक तथा तत्कालीन गतिविधिसम्बन्धी प्रतिवेदन प्रस्तुत गरे । कार्यक्रमको सञ्चालन संस्थाका सचिव रामचन्द्र वगालेले गरेका थिए । दुई हजार ५ सय ५९ सदस्य रहेको सहकारीको कुल ५ करोड बढि शेयर पुँजी रहेको छ ।





