बडादसैँको मुख्य दिन आज, टीकाको उत्तम साइत बिहान १०ः२६ बजे

दुलेगौंडा, ४ कार्तिक । यस वर्षको बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।
दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको देवीको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान १०ः२६ बजेको साइत उत्तम रहेको जनाएको छ ।
विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिका अध्यक्ष प्रा पुरुषोत्तम भट्टराईले जानकारी दिए ।
विजयादशमीको दिन आज चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्ने धर्मशास्त्रविद् एवं समितिका पूर्वसदस्य प्रा डा देवमणि भट्टराई बताउँछन् । यसो गर्दा चन्द्रमा लगाइमाग्नेको सम्मुखमा पर्ने पनि उनले बताए । टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ ।






