आज पहिलो साउने सोमबार, शिवालयहरुमा पुजाआजा

दुलेगौंडा, ४ साउन । आज पहिलो साउने सोमबार, देशका शिवालयहरुमा पुगि भक्तजनहरूले पुजा गरेका छन् । हिन्दू धर्मशास्त्रमा साउन महिनालाई शिवको अत्यन्त प्रिय महिना रुपमा लिइन्छ । साउनको सोमवार भगवान शिवको महिमा मानिने हुँदा भक्तजन उपासना गरी नजिकको पवित्र नदी, कुण्ड तथा तलाउबाट जल शिवलिंगमा चढाउँदा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । शुक्लागण्डकी–८ स्थित शुक्ला हिलेटार शिवालय क्षेत्रमा भगवान शिवको महिमा सहितको सत्संग भएको छ । संस्थाले विगत ४ वर्षदेखि साउनको सोमवार सत्संग गर्दै आएकोमा यस पटक संगीतमय प्रवचन थप गरिएको अध्यक्ष परशुराम भण्डारीले जानकारी दिए । उनले यस क्षेत्रको प्रचार, भक्तजनहरुको आगामनमा वृद्धि र निर्माणाधिन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान मार्फत सहयोग संकलन गर्ने उदेश्य रहेको बताए । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. २ गाछेपानीमा अवस्थित शुक्लागण्डकी मुक्तिनाथ च्यवनधाममा भक्तजनले पुजाआजा गरेका छन् । शुक्लागण्डकी– ५ झरौटास्थित श्री शिव पाञ्चायन मन्दिरमा पनि सिमित भक्तजन उपस्थित भएर पुजाआजामा सहभागि भए । यसैगरी शुक्लागण्डकी, भिमाद र म्याग्देको केन्द्र दोभानमा रहेको शिव मन्दिरमा पनि आज पुजाआजा गरिएको छ । शुक्लेश्वर बैजनाथ बोलबम समितिले सो क्षेत्रमा पुजाआजा गर्दै आएको छ ।





