दुलेगौंडा, २९ पुष । तनहुँको भिमादमा आयोजित फस्ट बेष्ट ब्वाईज भलिबल फेस्ट–२०८२ को खेल तालिका सार्वजनिक गरिएको छ ।
बेष्ट ब्वाईज क्ल्वको आयोजनामा माघ १ गतेदेखि भिमाद रंगशालामा सो प्रतियोगिता हुदै छ । प्रतियोगिताको उद्घाटन खेल एपिएफ क्लव काठमाडौं र जिएम समाज कावासोतीबीच हुने छ । यसैगरी सोहि दिन जोन घले हार्वेष्टिङ, अष्ट्रेलिया गोरखा र न्यू होराईजन भलिबल क्लवबीच दोस्रो खेल हुने क्लव अध्यक्ष संसार अन्जान सुवेदीले जानकारी दिए ।
माघ २ गते नेपाल एपिएफ क्ल्व, काठमाडौं र जोन घले हार्वेष्टिङ, अष्ट्रेलिया गोरखाबीचको पहिलो खेल हुने छ । यसैगरी सोहि दिन बेष्ट ब्वाइज गण्डकी प्रदेश र न्यू होराईजन भलिबल क्लव भिड्ने छन् । माघ ३ गते जोन घले हार्वेष्टिङ, अष्ट्रेलिया र गोरखा जिएम समाज कावासोतीबीच पहिलो र एपिएफम क्लव र बेष्ट ब्वाईजबीच दोस्रो खेल हुने क्लवले जनाएको छ । यसैगरी माघ ४ गते बेष्ट ब्वाईज गण्डकी र जिएम समाजबीच पहिलो र एपिएफ ब्लव र न्यू होराईजनबीच अर्को खेल हुने छ । माघ ५ गते जोन घले हार्वेष्टिङ र बेष्ट ब्वाइज पहिलो र जिएम समाज र न्यू होराईजन भिड्नेछन् । माघ ६ गते फाइनल खेल हुने छ ।
प्रतियोगितामा विजेता समुहले ३ लाख १ हजार ९९ द्वितीयले २ लाख १ सय ९९ र सान्त्वना हुने दुई समुहले ५०÷५० हजार रुपैया पाउने छन् । विधागत तर्फ उत्कृष्ट हुने खेलाडीले सर्वोत्कृष्ट २० हजार र उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र प्रशिक्षकले जनही १० हजार सहित सम्मानित हुनेछन् । साथै प्रतियोगिता अवधिवर दैनिक चर्चित कलाकारको प्रस्तुतीसमेत समावेश गरिएको छ । कलाकार समिक्षा अधिकारी, निश्चल दवाडी, प्रकाश दुतराज, आश्मा विश्वकर्मा, अर्जुन सापकोटा, बद्री पंगेनी, शान्ता रानी परियार र सविन राईको कन्सर्ट समावेश गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न ७१ लाख रुपैया खर्च लाग्ने अनुमान छ । प्रायोजक र शुभचिन्तकबाट रकम संकलन गरि खर्च जुटाउने क्लव अध्यक्ष सुवेदीले बताए ।





