युवा नेता पौडेलले महामन्त्री पदमा उम्मेदवारी दिने

दुलेगौंडा, २६ कार्तीक । नेपाली काङग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले आसन्न महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने बताएका छन् ।गृह जिल्ला तनहुँ आएका उनले बुधवार नेपाली काङग्रेस शुक्लागण्डकी नगरपालिका वडा नं. ८ वडा कार्यसमितिले छट पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रम एवम् सम्मान कार्यक्रममा बोेल्दै उनले सो कुरा बताएका हुन् ।

१३ औँ महाधिवेशनमा सिटौला समूहमा रहेका पौडेल १४औँ महाधिवेशनमा पनि उनैलाई साथ दिने भएका हुन् । अघिल्लो महाधिवेशनमा सिटौला समूहबाट महामन्त्रीको उम्मेदवार बनेका गगन थापा अहिले रामचन्द्र पौडेल समूहमा गएका छन् । थापाले पनि उम्मेदवारी दिने बताइसकेका छन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । नेविसंघको नेतृत्व गरेर आएका उनी पार्टी सभापति शेरबहादुर देउवासँग नजिक छन् । कार्यक्रममा बोल्दै नेता पौडेलले १४ औं महाधिवेशनपछि पार्टी नयाँ गतिले अघि बढ्ने बताए । उनले राजनितिलाई उत्पादनसँग जोडन सके आर्थिक रुपमा सबल हुन सकिने उल्लेख गरे । नेता पौडेल पनि नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष हुन् ।

महासमिति सदस्य प्राडा कृष्ण प्रसाद गौतम, जिल्ला प्रवक्ता महेश्वर भट्टराई, नगर सभापति गोपि बहादुर गुरुङ, निवर्तमान सभापति माधव भट्टराई, नेपाल महिला संघ जिल्ला कार्यसमिति तनहुँकी उपसभापति चन्द्रकला भट्टराई, काङग्रेस वडा कार्यसमितिका निवर्तमान सभापति एवम् वर्तमान नगर उपसभापति कृृष्णप्रसाद रेग्मी लगायतले बोलेका थिए । वडा सभापति विपेन्द्रसेन ठकुरीको सभापतित्वमा भएको कार्यक्रममा वडा उपसभापति विष्णु प्रसाद पोख्रेलले स्वागत र सचिव प्रकाश विकले कार्यक्रमको सञ्चालन गरेका थिए । सो अवसरमा नगर कार्यसमितिमा निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरुलाई कार्यकाल सफलताको कामना गर्दै सम्मान गरिएको थियो ।

Advertisment