खबर

साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म सञ्चालन गर्न तयारी गरेको कक्षा १२ को परीक्षा स्थगन

By Meropati
२०८३ कार्तिक २, आइतवार

भक्तपुर, २३ साउन \ राष्ट्रिय परीक्षा बोर्डले यही साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म सञ्चालन गर्न तयारी गरेको कक्षा १२ को परीक्षा स्थगन भएको छ । परीक्षा आउन एक हप्ता बाँकी हुँदा बोर्डको आज बसेको बैठकले अन्तिम तयारी पूरा गरिसकेको परीक्षा स्थगन गर्ने निर्णय गरेको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिनुभयो । कक्षा ११ को परीक्षा हाल भौतिकरूपमा होमसेन्टरमा सञ्चालन भइरहेको अवस्थामा बोर्डले कक्षा १२ को परीक्षा स्थगन गर्ने निर्णय गरेको छ ।

Advertisement

परीक्षा नियन्त्रक शर्माका अनुसार कक्षा ११ को परीक्षा ९० प्रतिशत सकिएको र यता कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थामा कक्षा १२ को परीक्षा भने स्थगन गर्ने निर्णय भएको छ । परीक्षा कहिले कसरी सञ्चालन हुन्छ भन्नेबारेमा बोर्डको अर्को बैठकले निर्णय गरी परीक्षा सञ्चालन हुनुभन्दा १५ दिन अगाडि नै सूचना सार्वजनिक गरिने उहाँको भनाइ थियो । स्वाथ्यराज्यमन्त्री उमेश श्रेष्ठले कोरोना सङ्क्रमण बढ्दै गएकाले भौतिकरूपमा परीक्षा सञ्चालन नगरी आन्तरिक मूल्याङ्कनबाट गर्ने बताउनुभएको थियो । त्यसपछि स्वास्थ्य मन्त्रालयको सिफारिशमा कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी)ले कोरोना सङ्क्रमण बढ्दै गएको कारण देखाउँदै तत्काल परीक्षा गर्न नसक्ने भन्दै बोर्डलाई नयाँ मिति तय गर्न पत्राचार गरेपछि बोर्डले परीक्षा स्थगन गर्ने निर्णय गरेको हो ।

0 SHARES
सेयर गर्नुहोस्: