कार्तीक, ३० दुलेगौंडा । महिलाहरुको समूहले देउसीभैलो खेलेर उठाएको रकम बिरामी शिशुको उपचारका लागि सहयोग गरेका छन् । जन्मजात मृगौलामा समस्या देखिएका २ महिने शिशु प्रशान्त विकको उपचारमा सघाउन शुक्लागण्डकी २ गाछेपानीका महिलाहरुले मंगलबार १० हजार रुपैयाँ नगद सहयोग हस्तान्तरण गरेका हुन् । “तिहारमा साथीसंगी विच रमाईलो गर्ने उदेश्यले सानो समूहमा भैलो खेलेका थियौं, थोरै रकम उठेको भएपनि बाबुको उपचारमा हातेमालो गर्न सहयोग गरेका हौं” गाछेपानीकी सन्तु ढुङ्गानाले भनिन् ।
दैलेख घर भई तनहुँ दुलेगौंडामा ज्याला मजदुरी गरी बस्दै आएका तपेन्द« विक र शान्ता वि.कका २ महिने छोरा प्रशान्तको मृगौला सुन्निएको र पिशाव नली साँघुरो रहेको फुपु कल्पना विकले बताईन् । वि.क परिवारका अनुसार गर्भावस्थादेखिनै शिशुको मृगौला र पिशाव नलीमा समस्या भएको चिकित्सकले बताएका थिए ।
उपचार गर्ने पैसा नभएपछि चिन्तामा रहेका वि.क परिवारलाई अहिले भने सहयोग आउने क्रम शुरु भएको छ । नेपालीप्पे नामक जर्मन संस्थाले ५० हजार रुपैयाँ सहयोग गरेपछि उपचारका लागि शिशुलाई काठमाण्डौ स्थित कान्ति बाल अस्पताल पठाईएको स्थानीय गोमा श्रेष्ठले बताईन् ।
छोरा बिरामी जन्मिएपछि दिनभरी कमाएर साँझ विहानको गुजारा चलाउँदै आएका वि.क परिवारको दैनिकि प्रभावित बनेको छ । छोराको उपचारका लागि आर्थिक सहयोग गरिदिन उनीहरुले सबैसंग अनुरोध गरेका छन् ।





