हरिबोधनी एकादशीमा शुक्लागण्डकी र व्यासमा सार्वजनिक विदा, पुल्चोक क्षेत्रमा एकादशी मेला

दुलेगौंडा, २८ कार्तीक । हरिबोधनी एकादशी (तुलसीको विवाह ) को अवसरमा सोमवार शुक्लागण्डकी नगरपालिकाले सार्वजनिक विदा दिएको छ । हिन्दु धर्मावलम्वीहरुको पवित्र पर्वको रुपमा रहेको हरिबोधनी एकादशीका दिनमा नगर मातहत रहेका सम्पूर्ण कार्यालय र सामुदायिक विद्यालयहरुलाई विदा दिइएको हो । शिक्षा शाखाका उपसचिव नवराज चाँपागाईद्धारा आइतवार जारी सुचनामा नगर प्रमुखस्तरीय निर्णयबाट भोली स्थानीय विदा दिने जनाइएको हो । यसैगरी व्याँस नगरपालिकाले पनि भोली सार्वजनिक विदा दिएको छ । नगर मातहतका सम्पूर्ण कार्यालय, सामुदायिक तथा निजि शैक्षिक संस्थाहरु र अन्य संघसंस्थामा सार्वजनिक विदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् दामोदर ’विष्णु’ को विवाह र विशेष पूजा गरी मनाउने वैदिक परम्परा छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा निदाएका विष्णु एकादशिका दिन ब्युँझने भएकाले यो एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ ।
हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा आराधना गर्दछन् । विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह ब्रतवन्धजस्ता मांगलिक कार्य नगरिने परम्परा छ । एकादशीको अवसर पारेर भोली ड्रिम्स नेपाल कल्चर मिडिया हाउस प्रालिको आयोजनामा शुक्लागण्डकी–४, पुल्चोकमा वृहत साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । पुल्चोक क्षेत्रमा एकादशी मेला समेत लाग्नुका साथै सेती नदीमा स्नान र फूल तार्नेहरुको भिड लाग्ने गर्दछ । भक्तजनहरु तनहुँको शुक्लागण्डकी, स्याङजाको पुतलीबजार, हरिनाश, बिरुवा लगायत क्षेत्रबाट पुल्चोकमा आउने गर्दछन् ।






