खबर

विपद् व्यवस्थापन सर्वपक्षिय समितिद्वारा सभामुख सापकोटालाई ध्यानाकर्षण पत्र

By Meropati
२०८३ कार्तिक २, आइतवार
विपद् व्यवस्थापन सर्वपक्षिय समितिद्वारा सभामुख सापकोटालाई ध्यानाकर्षण पत्र

काठमाडौ, २३ साउन ।  सिन्धुपाल्चोकमा यसबर्षको बाढी र पहिरोबाट पीडित एवं विस्थापितहरुलाई सहजिकरण गर्न गठित विपद व्यवस्थापन सर्बपक्षिय समितिले सम्माननीय सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको छ ।

Advertisement
समितिका आवद्ध अधिकारीहरुले आज सभामुख सापकोटालाई उहाँको निवास लैनचौरमा भेटेर मेलम्ची र इन्द्रावती नदिले पुल बगाएको स्थानमा तत्काल बेलीब्रिज स्थापना गरी सडक सम्पर्क जोड्न, अबरुद्ध विद्युत र सञ्चार सम्पर्क स्थापित गर्न विशेष पहल गरिदिन आग्रह सहित ध्यानाकर्षण पत्र बुझाएको हो ।
हेलम्बु र मेलम्ची क्षेत्रमा गत असार १ र साउन १७ गते आएको बाढीले भएको क्षति सम्बन्धि प्रारम्भिक प्रतिवेदन सहितको पत्रमा पुल, विद्युत, टेलिफोन सेवा तत्काल सुचारु गर्ने व्यवस्था, प्रभावित क्षेत्रमा आधरभुत खानेपानी मर्मत गरी खानेपानीको आधरभुत व्यवस्थान, नदी तटीय  क्षेत्रका बस्तिहरु स्थानन्तरण गर्न अस्थायी आवास निमार्ण सामाग्रीको उपलब्धता लगायतका विषय समेटिएका छन् ।

ध्यानाकर्षण पत्र बुझेपछि सभामुख सापकोटाले मेलम्ची र हेलम्बु क्षेत्रका बाढी पहिरो प्रभावितसँग सम्बन्धित विषय आफ्नो प्राथमिकतामा रहेको बताउनु भयो । गत असार २ गते बाढीबाट भएका क्षतिको स्थलगत जानकारी लिएर फर्केपछि आफूले विपद् ब्यवस्थापन क्षेत्रका विज्ञहरु, सम्बन्धित सरकारी संयन्त्रका अधिकारीहरुसँग प्रकोप व्यवस्थापनका विषयमा निरन्तर छलफल गरिरहेको जानकारी दिनु भयो । उहाँले साउन १४ गते गृह मन्त्री बालकृष्ण खाणसँग तत्काल २ वटा बेलिब्रिज स्थापना गरेर सडक सम्पर्क स्थापित गर्ने विषयमा छलफल भएको बताउनु भयो । सभामुख सापकोटाले शुक्रबार उर्जा मन्त्री पम्फा भुसालसँगको भेटमा बाढी पहिरो प्रभावित क्षेत्रमा अवरुद्ध विद्युत सेवा सुचारु गर्ने विषयमा छलफल भएको जानकारी गराउँदै छिट्टै सेवा सुचारु हुने विश्वास व्यक्त गर्नु भयो ।

गत असार २ गते सभामुख सापकोटाको उपस्थितिमा मेलम्ची नगरपालिकाको कार्यालयमा बसेको सर्बपक्षिय बैठकबाट सो क्षेत्रमा बाढी, पहिरोबाट पीडितहरुलाई सहजिकरण गर्न जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङको संयोजकत्वमा सर्बपक्षिय सहभागिता सहित  ‘इन्द्रावती, मेलम्ची क्षेत्र प्राकृतिक विपद् व्यवस्थापन मूल समिति’ गठन भएको थियो ।

0 SHARES
सेयर गर्नुहोस्: