खबर

कोरला नाकामा सुक्खा बन्दरगाह बन्ने

By Meropati
२०८३ अशोज ३, शनिबार
कोरला नाकामा सुक्खा बन्दरगाह बन्ने

छिमेकी मुलुक चीनसँगको आयात निर्यातलाई थप सहज बनाउन तथा एकीकृत सेवा दिन मुस्ताङको कोरलामा प्रस्तावित सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । अध्ययनले कोरलामा सुक्खा बन्दरगाह उपयुक्त हुने निष्कर्ष निकालेको छ ।
नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी प्रमुख आशिष गजुरेलले चीनसँगको व्यापारलाई थप सहजीकरणका लागि निर्माण गर्न लागिएको कोरला सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन सम्पन्न भएको जानकारी दिनुभयो । कोरला नाकामा चीनतर्फ भन्सार, अध्यागमन र सुक्खा बन्दरगाहलगायत भौतिक संरचना निर्माण सम्पन्न भइसकेको छ ।
समुद्री सतहबाट चार हजार ६६० मिटर उचाइमा बन्ने सो सुक्खा बन्दरगाहमा दुई दर्जनभन्दा बढी भित्री पूर्वाधार निर्माण गर्नुपर्ने अध्ययनले देखाएको छ । सितारा कन्सल्टेन्ट प्रालिले एक वर्षको अवधिमा सो अध्ययन गरेको हो । अध्ययन प्रतिवेदन समितिलाई प्राप्त भइसकेको छ ।
गजुरेलले भन्नुभयो, “सो ठाउँमा सुक्खा बन्दरगाह निर्माण गर्नु प्राविधिक, आर्थिक, वातावरणीय, सामाजिक दृष्टिकोणले उपयुक्त रहेको सो अध्ययनले देखाएको छ ।” सो बन्दरगाह निर्माण अगाडि बढाउन आर्थिक वर्ष २०७८÷७९ भित्र परामर्शदाता कम्पनी छनोट गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)को काम सम्पन्न गर्ने बताउँदै उहाँले डीपीआर र ईआईए गर्न बजेटको समेत सुनिश्चितता भइसकेको जानकारी दिनुभयो ।
अध्ययन प्रतिवेदनले सो बन्दरगाहको निर्माण कार्य दुई चरणमा सम्पन गर्ने प्रस्ताव गरेको कार्यकारी प्रमुख गजुरेलले बताउनुभयो । बन्दरगाह निर्माण गरिदिन चीन सरकारसँग समेत छलफल भइरहेको जानकारी उहाँले दिनुभयो । बन्दरगाह निर्माणका लागि जग्गासमेत सुनिश्चित भइसकेको छ ।
प्रतिवेदनअनुसार सो सुक्खा बन्दरगाहको कुल निर्माण लागत एक अर्ब ५० करोड ९२ लाख ९३ हजार रुपियाँ अनुमान गरिएको छ । करिब साढे चार सय रोपनी क्षेत्रफलमा निर्माण हुने सो बन्दरगाहका लागि जग्गा सुनिश्चित भइसकेको गजुरेलले जानकारी दिनुभयो । सो ठाउँमा सार्वजनिक जग्गा नै प्रशस्त छ । निजी जग्गा अधिग्रहण गर्नु नपर्ने उहाँले बताउनुभयो ।
गजुरेलले सो बन्दरगाहमा रेल–वे र सडक पूर्वाधारको समेत ‘लिङ्क’ हुने बताउँदै मुख्य रूपले भन्सार पूर्वाधार, प्रशासन पूर्वाधार, कन्टेनर यार्ड, सुरक्षा बेस, पार्किङ, क्वारेन्टाइन कार्यालय, पेट्रोल पम्प र डिप बोरिङलगायतका भौतिक पूर्वाधार निर्माण गरिने बताउनुभयो ।
दुई वर्षअघि नै उत्तरी कोरला नाकाको २४ नम्बर सीमास्तम्भको नेपालतर्फ अन्तर्राष्ट्रिय मापदण्ड छोडेर सुक्खा बन्दरगाह निर्माण गर्न आवश्यक जमिनको लालपुर्जा तयार भइसकेको छ । –भउचप्रसाद यादव : https://gorkhapatraonline.com/

0 SHARES
सेयर गर्नुहोस्: