अर्थ र वाणिज्य

पत्रकार महासंघद्वारा सरकारको वार्षिक बजेटको स्वागत

By Meropati
२०८३ अशोज ३, शनिबार
पत्रकार महासंघद्वारा सरकारको वार्षिक बजेटको स्वागत

काठमाडौ। नेपाली पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघले सरकारद्वारा शनिबार अध्यादेश मार्फत प्रस्तुत आर्थिक वर्ष २०७८-७९ बजेटको स्वागत गरेको छ । महासंघमा महासचिव रोशन पुरीले आइतबार विज्ञप्ती जारी गर्दै बजेट सकारात्मक रहेको बताउनुभएको छ ।

बजेटमा महासंघले उठाएको मागको सुनुवाई भएको बताउँदै महासंघले त्यसलाई सकारात्मक रुपमा लिंदै कार्यान्वयनका लागि आग्रह गरेको छ । “नेपाल सरकारका तर्फबाट अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हिजो प्रस्तुत गर्नुभएको बजेटमा सञ्चार क्षेत्रमा विनियोजन गरेको बजेटलाई नेपाल पत्रकार महासंघले सकारात्मक रुपमा लिएको छ” विज्ञप्तीमा उल्लेख छ ।

बजेटमा महासंघले प्रस्ताव गरेअनुसार सञ्चार क्षेत्रका लागि समावेश भएका केही विषयहरु सराहनीय रहेको महासंघले बताएको छ । यसअघि महासंघका पदाधिकारीले गत वैशाख ७ गते मन्त्री पौडेलसँग छलफल गरेर माग प्रस्तुत गरेको थियो । “बजेटमा उल्लेख भएका सञ्चार क्षेत्रका सबै व्यवस्थाको समयमै कार्यान्वयन गर्न थप नीतिगत व्यवस्था गर्न आवश्यक छ” महासचिव पुरीद्वारा जारी विज्ञप्तीमा भनिएको छ । यस आ.व.को बजेटमा श्रमजीवी पत्रकारका लागि ७ लाखसम्मको दुर्घटना बीमामा ५० प्रतिशत प्रिमियम सरकारले दिने, नेपाल पत्रकार महासंघका सदस्यको देशभित्रका सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचारको व्यवस्था गर्ने भनिएको छ ।

त्यस्तै, आगामी आर्थिक वर्षभित्र आम सञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने, महासंघको निर्माणधिन भवन सम्पन्न गर्न आवश्यक रकमको विनियोजन, प्रेस संग्रहालयको स्थापना गर्ने, कोभिडबाट प्रभावित भइ रोजगारी गुमाएका पत्रकारलाई लेखनवृत्ति र सञ्चारगृहलाई पुनरकर्जा तथा व्यवसायिक निरन्तरता कर्जा सुविधा दिने, पत्रकार कल्याणकारी कोषको कार्यान्वयन गर्ने प्रतिवद्धता बजेटमा गरिएको छ ।

सोहीअनुसार सरकारी विज्ञापन सबै प्रकारका पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यमलाई न्यायपूर्ण पहुँचका आधारमा सुनिश्चित गरिने र सञ्चार गृहको आर्थिक वर्ष ७८-७९ को इजाजत तथा नवीकरण दस्तुर छुट दिई स्वतः नवीकरण हुने व्यवस्था सरकारले गरेको छ ।  Source: gorkhapatraonline

0 SHARES
सेयर गर्नुहोस्: