विदेश

भारत भ्रमणपछि साउदी युवराज चीनमा

By Meropati
२०८३ अशोज ४, आइतवार
भारत भ्रमणपछि साउदी युवराज चीनमा

साउदी अरबका युवराज मोहम्मद बिन सलमान भारतको दुई दिने औपचारिक भ्रमणपछि बिहीबार चीन पुगेका छन् ।

चीनको दुई दिने भ्रमणमा रहेका युवराज सलमानले चिनियाँ राष्ट्रपति सि जिनफिङसँग भेटवार्ता गर्ने छन् । भेटमा ऊर्जा, भू-उपग्रह र राष्ट्रपति सिको महत्वाकांक्षी ‘बेल्ट एण्ड रोड’ बजार पूर्वाधार अभियानसम्बद्ध क्षेत्रीय आर्थिक सहयोगका बारेमा छलफल एवम् महत्वपूर्ण सम्झौता हुने जनाइएको छ ।

चीन साउदी अरेबियाको सबैभन्दा ठूलो व्यापार साझेदार हो । गत वर्ष यी दुई मुलुकबीच ६३.३ बिलियन अमेरिकी डलर बराबरको व्यापार भएको थियो । यी दुई देशबीच सन् २०१७ मा साउदी अरबका राजा सलमानको बेइजिङको राजकीय भ्रमणको क्रममा ऊर्जा र प्रविधिसम्बन्धी ६५ बिलियन डलरको द्विपक्षीय सम्झौता भएको थियो ।

चीनको यो भ्रमणबाट युवराज सलमानले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउनुका साथै चीनलाई आफ्नो बलियो विकल्पको रूपमा पश्चिमा देशहरूका सामु प्रस्तुत गर्न चाहन्छन् । चीन भ्रमणपछि उनले दक्षिण कोरियाको पनि भ्रमण गर्ने जनाइएको छ ।

विभिन्न एसियाली मुलुकहरूको भ्रमणको क्रममा रहेका युवराज सलमानले यस क्षेत्रका नेतृत्वहरूसँगको सम्बन्धलाई बलियो बनाई पत्रकार जमाल खशोग्गीको हत्यापश्चात् धमिलिएको आफ्नो छविलाई उकास्दै साउदीको भावी राजाको रूपमा समर्थन चाहन्छन् ।

युवराज सलमान पाकिस्तान र भारतको औपचारिक भ्रमण सम्पन्न गरी चीन पुगेका हुन् ।

0 SHARES
सेयर गर्नुहोस्: