विदेश

थाई राजपरिवारको परम्परा तोड्दै राजकुमारी उबोलरत्न राजनीतिमा

By Meropati
२०८३ अशोज ४, आइतवार
थाई राजपरिवारको परम्परा तोड्दै राजकुमारी उबोलरत्न राजनीतिमा

थाइल्याण्डकी राजकुमारी उबोलरत्न राजकन्या सिरिवधन बर्नावदीले आगामी मार्च २४ मा हुने निर्वाचनमा प्रधानमन्त्री पदका लागि उम्मेद्वारी दिएकी छिन् ।

निकै ढिला गरी हुन लागेको आम निर्वाचनमा भूतपूर्व प्रधानमन्त्री थाक्सिन शिनावत्राको दल थाई रक्षा चार्टले राजकुमारी बर्नावदीलाई भावी प्रधानमन्त्रीको रूपमा सिफारिस गरेको हो । थाई इतिहासमा राजपरिवारको कुनै पनि सदस्य राजनीतिमा लागेर चुनावी मैदानमा होमिएको यो पहिलो घटना हो । ६७ वर्षीया बर्नावदी थाई राजा महा भाजिरालोङकोर्नकी दिदी हुन् ।

राजकुमारी बर्नावदीले सन् १९७२ मा अमेरिकी नागरिकसँग विवाह गरेपछि उनको शाही पद्वी खोसिएको थियो । १९९० को दशकमा पारपाचुके गरेर पुनः थाइल्याण्ड फर्किएकी राजकुमारीको पद्वी फिर्ता नभएपनि थाई जनताले उनलाई शाही सदस्यको हैसियतमा दिएको सम्मान कायमै छ ।

सँधै राजनीतिभन्दा माथि रहेका राजपरिवारबाट राजनीतिमा भएको संलग्नताले थाइल्याण्डमा एउटा तरङ्ग ल्याउने निश्चित् छ । बर्नावदीको निकटतम प्रतिस्पर्धीको रूपमा पलङ प्रचारत पार्टीको सिफारिसमा वर्तमान सैनिक सरकारका प्रमुख एवम् तत्कालीन सेना प्रमुख प्रयुथ चान-ओचालाई हेरिएको छ । उनी सन् २०१४ मा सैनिक ‘कू’मार्फत् जननिर्वाचित प्रधानमन्त्री यिङलक शिनावत्रालाई अपदस्थ गरी थाइल्याण्डको प्रधानमन्त्री बनेका थिए ।

0 SHARES
सेयर गर्नुहोस्: