पोखरा बस दुर्घटनाः पाँच सदस्यीय छानबिन समिति गठन

दुलेगौंडा, २३ असोज । पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रवार भएको स्कुल बस दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पोखरा महानगरपालिकाले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।
माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आउँदै गरेको बस ओख्लेको भिरमा दुर्घटनामा परेको थियो । विद्यार्थी, चालक र सहचालकसमेत गरी २२ जना सवार उक्त बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका अन्य यात्रुहरुको हाल विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परी पोखरा २८ माझठाना बस्ने १२–१३ वर्षीया ममता तिवारी, १३–१४ वर्षीय अशिम कँडेल, १४ वर्षीया रुमिका नेपाली र १४ वर्षीया सुवेच्छा तिवारीको मृत्यु भएको छ। त्यसैगरी बसमा उपचारका लागि भन्दै लिफ्ट मागेर सवार ६५ वर्षीय बाबुराम तिवारीको पनि मृत्यु भएको छ ।
पोखरा महानगरपालिकाका नगरप्रमुख एवं नगर शिक्षा समितिका अध्यक्ष धनराज आचार्यले दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन छानबिन समिति गठन गरिएको जानकारी दिए । समितिको संयोजकमा वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदी रहेका छन् ।
त्यसैगरी समितिका सदस्यहरुमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई रहेका छन्। गठित समितिले दुर्घटनाको कारण र घटनासँग सम्बन्धित विषयहरुको विस्तृत अध्ययन तथा छानबिन गरी सत्यतथ्यसहित ५ दिनभित्र प्रतिवेदन पेस गर्नेछ । यसका साथै समितिले विद्यालयका सवारीसाधनको सुरक्षा, विद्यार्थीको सुरक्षित आवागमन र आगामी दिनमा अपनाउनुपर्ने सावधानीका सम्बन्धमा आवश्यक सुझावसमेत पेस गर्ने जनाइएको छ ।







