इन्टरनेटको मूल्य बढ्ने, अब ५० एमबीपीएस भन्दा कम स्पिडको प्याकेज नबेच्ने आइस्पानको निर्णय

इन्टरनेटको मूल्य बढ्ने भएको छ । अब इन्टरनेट सेवाप्रदायकले ५० एमबीपीएस भन्दा कम स्पिडको प्याकेज नबेच्ने निर्णय गरेसँगै मूल्य समेत बढ्ने भएको हो ।
इन्टरनेट सेवा प्रदायकहरूले ग्राहकलाई उपलब्ध गराउँदै आएका सस्तो मूल्य र कम स्पीडका इन्टरनेट प्याकेजहरू आगामी सोमबार (असोज १९ गते) देखि बन्द हुने भएका हुन् ।
अन्तर्राष्ट्रिय तथा आन्तरिक बजारमा बढेको चर्को मूल्यवृद्धिका कारण सेवा सञ्चालन (अपरेसन) खर्च धान्न नसक्ने अवस्था आएपछि यस्तो निर्णय लिनुपरेको इस्पानले स्पष्ट पारेको छ ।
फिक्स्ड ब्रोडब्यान्डको पहुँच र घनत्वमा नेपाल दक्षिण एसियामै अग्रणी रहेको तथा विश्वकै सस्तो दरमा इन्टरनेट सेवा दिँदै आएको स्मरण गराउँदै संघले कोरोना महामारीदेखि विभिन्न प्राकृतिक विपद्का समयमा पनि निरन्तर सेवा दिएको उल्लेख गरेको छ ।
इस्पानले गुणस्तरीय सेवा प्रवाह गर्दै ‘डिजिटल नेपाल’ को सपनालाई निरन्तरता दिन आग्रह गर्दै उपभोक्ताहरूलाई इन्टरनेट सेवा खरिद गर्दा अनिवार्य रूपमा भ्याट बिल लिन समेत अनुरोध गरेको छ ।
इन्टरनेट सेवाको गुणस्तर सुधार गर्न र बजारलाई व्यवस्थित बनाउन यस्तो निर्णय गरिएको इस्पानका अध्यक्ष पराजुलीले क्लिकमान्डुलाई बताए ।
पराजुलीका अनुसार यो निर्णय प्रत्यक्ष रूपमा मूल्य वृद्धि नभई सेवाको न्यूनतम मापदण्ड र कानुनी प्रक्रिया मिलाउने प्रयास हो । दूरसञ्चार सेवा शुल्क (टीएससी) लगायतका विषयमा भने यो निर्णयले कुनै असर नगर्ने उनले स्पष्ट पारेका छन् । सरकारसँग टीएससी र अन्य शुल्कका विषयमा वार्ता भइरहेको र सहमति हुन नसकेको खण्डमा भविष्यमा थप शुल्क (सर्चार्ज) का रूपमा लिनुपर्ने अवस्था आउन सक्ने भए पनि हालको निर्णय पूर्ण रूपमा सेवाको न्यूनतम ब्यान्डविथ र गुणस्तर सुधारमा केन्द्रित रहेको पराजुलीको भनाइ छ ।






