कालिका क्याम्पसका विद्यार्थीलाई सुरक्षित सवारी अभिमुखीकरण

पोखरा । कालिका बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई सुरक्षित सवारीसम्बन्धी एकदिने अभिमुखीकरण दिइएको छ । विद्यार्थी सवारी दुर्घटनाको उच्च जोखिममा रहने भएकाले सुरक्षित सवारी, ट्राफिक नियम र सडक सुरक्षाबारे सचेत गराउने उद्देश्यले कार्यक्रम गरिएको हो ।
कालिका बहुमुखी क्याम्पसको अतिरिक्त क्रियाकलाप समितिले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र भिएडब्लु इन्टरप्राइज प्रालिको सहयोगमा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा विद्यार्थीलाई सवारी दुर्घटनाका कारण, सवारी नियम, सुरक्षित रूपमा सवारी चलाउने तरिका, ट्राफिक संकेत तथा मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा हुन सक्ने दुर्घटनाबारे जानकारी दिइएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी वरिष्ठ नायब निरीक्षक यामनाथ पनेरुले सहज सवारी आवागमन र दुर्घटनारहित समाज निर्माणका लागि सबै सचेत हुनुपर्ने बताए । ’दिनप्रतिदिन बढ्दै गइरहेको सवारी दुर्घटनाबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न तथा सहज सवारी आवागमन र सुरक्षित यात्राका लागि सरोकारवाला निकायबीचको एकीकृत सहभागिताबाट सडक सुशासन कायम गरी सभ्य समाजको निर्माण हुन्छ,’ पनेरुले भने ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले कार्यक्रममा सवारी दुर्घटनाका कारण र ट्राफिक नियमबारे प्रस्तुतीकरण गरेको थियो । विद्यार्थीलाई सुरक्षित सवारी चलाउने तरिका र ट्राफिक संकेतबारे पनि जानकारी दिइएको थियो । मादक पदार्थ सेवन गरी सवारी चलाउँदा हुन सक्ने सम्भावित दुर्घटनाका विषयमा पनि विद्यार्थीलाई जानकारी दिइएको थियो । त्यसपछि क्याम्पसको खेलमैदानमा विद्यार्थीलाई सुरक्षित सवारीसम्बन्धी प्रयोगात्मक अभ्यास गराइएको थियो ।
भिएडब्लु राइड्स प्रालिका व्यवस्थापक कृष्ण परियारले सुरक्षित सवारीसम्बन्धी टिप्सबारे प्रशिक्षण दिएका थिए । उनले सुरक्षित रूपमा सवारी चलाउँदा अपनाउनुपर्ने उपायबारे विद्यार्थीलाई जानकारी दिएका थिए । क्याम्पसका सहायक क्याम्पस प्रमुख शालिकराम तिमिल्सिना र युवराज गुरुङले सुरक्षित सवारी तथा यसमा सरोकारवालाले खेल्नुपर्ने भूमिकाबारे सहजीकरण गरेका थिए । क्याम्पस प्रमुख प्रा. बिरन्जी गौतमले वर्तमान अवस्थामा सवारी दुर्घटनाको दर बढ्दै गएको र त्यसबाट विशेषगरी युवा बढी प्रभावित भइरहेको बताए । ‘यस्ता कार्यक्रमले सुरक्षित सवारीका लागि सहयोग पुग्छ । प्रशिक्षणमा सहभागी सबै विद्यार्थीले आफ्ना साथीभाइलाई पनि यसबारे सचेत गराउनुपर्छ,’ गौतमले भने । भिएडब्लु इन्टरप्राइज प्रालिका अध्यक्ष सरोज श्रेष्ठले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा विद्यार्थी कल्याणकारी समितिका अध्यक्ष तेजेन्द्र केसीले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र भिएडब्लु इन्टरप्राइज प्रालिलाई मायाको चिनोसहित धन्यवाद दिए ।






