देश
युवा खुलातर्फ महाधिवेशन प्रतिनिधिमा सुरज लम्सालको उम्मेदवारी

तनहुँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँ क्षेत्र नम्बर २ बाट ३५ वर्षमुनिको युवा खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा सुरज लम्सालले उम्मेदवारी घोषणा गरेका छन्।
युवा पुस्तामाझ परिचित लम्सालले पार्टीमा युवाको सहभागिता, प्रतिनिधित्व र नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको बताएका छन्।
शुक्लागण्डकी नगरपालिका–३ का क्षेत्रीय प्रतिनिधिसमेत रहेका लम्साल नेपाल विद्यार्थी संघ तनहुँका निवर्तमान अध्यक्ष हुन्। विद्यार्थी तथा युवा राजनीतिमा सक्रिय रहँदै आएका लम्सालले युवाका मुद्दालाई पार्टीको नीति, नेतृत्व र निर्णय प्रक्रियामा प्रभावकारी रूपमा उठाउने उद्देश्यसहित आफ्नो उम्मेदवारी अघि सारेको बताएका छन्।
कांग्रेसको संगठनलाई थप सुदृढ बनाउँदै युवा पुस्तालाई पार्टीको मूलधारमा जोड्ने, युवाको क्षमता र नेतृत्व विकासका लागि अवसर सिर्जना गर्ने तथा पार्टीलाई समयानुकूल गतिशील बनाउन आफूले भूमिका खेल्ने लम्सालको भनाइ छ।







