तनहुँ क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिदै अर्याल
दुई दशकको अटुट निष्ठा, सेवाको समर्पण र नेतृत्वको उदय

तनहुँ, ९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै छ । यसै सन्दर्भमा तनहुँ क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि पदका धर्म दत्त अर्यालले उम्मेदवारी दिने तयारी गरिरहेका छन् । विद्यार्थी राजनीतिको भूमिकादेखि सुरु भएको उनको राजनीतिक यात्रा दुई दशकभन्दा बढी समयसम्म निरन्तर, निष्ठापूर्ण र जनउन्मुख रहँदै आएका छन् ।
अर्यालले व्यवस्थापन तथा राजनीतिशास्त्र विषयमा स्नातकोत्तरसम्मको उच्च शिक्षा हासिल गरेका छन्। सैद्धान्तिक ज्ञानलाई व्यावहारिक कार्यसँग जोड्ने क्षमताका कारण उनी पार्टीभित्र वैचारिक स्पष्टता, नीतिगत दूरदर्शिता र सन्तुलित नेतृत्व प्रदान गर्न सक्षम व्यक्तित्वका रूपमा चिनिन्छन्। शिक्षालाई सेवाको औजारका रूपमा ग्रहण गर्ने उनको दृष्टिकोणले युवा पुस्तामा समेत प्रेरणा प्रवाह गरेको छ।
उनको राजनीतिक जीवनको सुरुवात वि.सं. २०६४ मा सरस्वती क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को सक्रिय कार्यकर्ताका रूपमा भएको हो। विद्यार्थी अधिकारका लागि संघर्ष गर्दै संगठन निर्माणमा योगदान पु¥याएपछि वि.सं. २०६५ देखि भने उनी नेपाली कांग्रेसको क्रियाशील सदस्य भई निरन्तर कार्यरत छन् ।
संगठनभित्र विभिन्न जिम्मेवारी वहन गर्दै आएका अर्यालले नेविसंघ तनहुँ–काठमाडौं सम्पर्क समितिको सहसचिवको भूमिका समेत सफलतापूर्वक निर्वाह गरिसकेका छन्। वर्तमानमा उनी कांग्रेस तनहुँ–काठमाडौं सम्पर्क समितिको सक्रिय सदस्यका रूपमा संगठनको सुदृढीकरणमा निरन्तर लागिपरेका छन् । यसैगरी पार्टीका १३औँ, १४औँ र १५औँ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिका रूपमा सहभागी भई नीति निर्माणको प्रक्रियामा सक्रिय योगदान पु¥याउँदै आएका छन् ।







