सगरमाथा वृक्षारोपण महाअभियान तथा राष्ट्रिय वृक्षारोपण दिवसमा शुक्लाण्डकीमा २ हजार ३ सय रुद्राक्ष रोपिदै

दुलेगौंडा, १४ असार । सरकारले घोषणा गरेको सगरमाथा वृक्षारोपण महाअभियान तथा राष्ट्रिय वृक्षारोपण दिवस तनहुँको शुक्लागण्डकीमा सुरु गरिएको छ ।
आइतवार विहान शुक्लागण्डकी– १० मालागिरीस्थित मालागिरी सामुदायिक वनमा १ हजार ७ सय रुद्राक्ष बिरुवा सार्ने अभियान शुरु गरिएको हो । नगर प्रमुख कृष्णराज पण्डित र उपप्रमुख खुम बहादुर विक राजुले रुद्राक्षको विरुवा रोपेर सो अभियानको शुभारम्भ गरे । दुई हेक्टर क्षेत्रफलमा गण्डकीमै पहिलोपटक रुद्राक्ष रोपण शुरु भएको बताउदै यस क्षेत्रलाई रुद्राक्षको पकेट क्षेत्रको रुपमा विकास गरिने डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटले जानकारी दिए । उनका अनुसार सोहि वडाको खोरादीमा समेत करिव ६ सय रुद्राक्ष लगाईदै छ ।

सो अवसरमा शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले वन संरक्षणसँगै समृद्धिसँग जोड्न यस्ता अभियानले सहयोग पुग्ने बताउदै स्थानीय सरकारको पूर्ण साथ र सहयोग रहने बताए । उनले सारिएका विरुवा संरक्षणमा ध्यान दिन सामुदायिक वन र स्थानीयलाई आग्रह गरे । नगर उपप्रमुख खुम बहादुर विक राजुले प्राकृतिक स्रोतको दिगो उपयोग तथा जलवायु परिवर्तनका चुनौती सामना गर्न वृक्षारोपण प्रभावकारी माध्यम हुने विश्वास व्यक्त गरे । वडा नंं १० का अध्यक्ष रामचन्द्र भट्टराई क्षेत्री, मालागिरी सामुदायिक वन उपभोक्ता समुहका सचिव सिद्धि बहादुर खाँड, वन अधिकृत नर बहादुर क्षेत्री लगायतले नागरिकलाई वृक्षारोपणमा मात्र सीमित नरही रोपिएका विरुवाको संरक्षण र संवद्र्धनमासमेत लाग्नुपर्नेमा जोड दिएका थिए ।
डिभिजन वन कार्यालयका प्रमुख रानाभाटले धार्मिक दृष्टिले महत्वपूर्ण मानिएको रुद्राक्ष ४ वर्षपछि फल्ने र आम्दानीको राम्रो स्रोत बन्ने जानकारी दिए ।
सगरमाथाको नामसँग जोडिएको यो महाअभियानले वातावरण संरक्षणप्रति नागरिकको सहभागिता अभिवृद्धि गर्नुका साथै हरियाली नेपाल निर्माणको राष्ट्रिय अभियानलाई थप बल पुग्ने अपेक्षा गरिएको छ ।

Advertisment