दुलेगौंडा, २८ चैत । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी–२ स्थित दुलेगौंडा–कोत्रे खण्डको गाँछेपानीमा शनिवार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
पोखराबाट काठमाडौतर्फ आउदै गरेको बा ग च ७३६५ नम्बरको टोयोटा गाडीले विपरित दिसातर्फ जादै गरेको स्कुटरलाई ठक्कर दिदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्कुटर चालक पाँचथर घर भई हाल गाछेपानीस्थित श्री मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाममा पुजारीको रुपमा कार्यरत ३० वर्षिय गणेश खतिवडा र गाछेपानी निवासी स्कुटरको पछाडी सवार ५५ वर्षिय कृष्ण बहादुर भुजेल रहेका छन् । खतिवडा विगत ४ वर्षदेखि च्यवनधाममा पुजारीको रुपमा कार्यरत थिए ।
खतिवडाको तनहुँ सेवा हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरिक्षक धननारायण श्रेष्ठले जानकारी दिए । भुजेलको पोखरामा मृत्यु भएको हो । उनका अनुसार गाडी र गाडी चालक ललितपुरका ६३ वर्षिय कृष्ण बहादुर श्रेष्ठ प्रहरीको नियन्त्रणमा छन् । सीसीटीभी फुटेजमा देखिए अनुसार विपरित लेनमा आएर स्कुटरलाई ठक्कर दिएको हो । प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।





