दुलेगौंडा, २६ चैत । तनहुँको शुक्लागण्डकीमा चैतको पहिलो साता आयोजित रैथाने खाना महोत्सव–२०८२ को आयव्यय सार्वजनिक गरिएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद शुक्लागण्डकीले आयोजना गरेको सो महोत्सवबाट करिव ४ हजार रुपैया बचत भएको छ । मंगलवार खैरेनीटारमा आयोजित एक कार्यक्रममा समन्वय परिषद शुक्लागण्डकीका अध्यक्ष कुल कुमार कुमालले विभिन्न क्षेत्रबाट कुल ४ लाख रुपैया आम्दानी भई कुल ३ लाख ९५ हजार ७ सय ३९ रुपैया खर्च भएको जानकारी दिए । महोत्सवकोलागि शुक्लागण्डकी नगरपालिकाबाट ३ लाख, कार्यसमिति पदाधिकारीबाट ६५ हजार रुपैया र शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघबाट ३५ हजार रुपैया प्राप्त भएको थियो । झाँकीमा सहभागी समुदाय, विभिन्न समुदायका घर निर्माण, छपाई, स्टेसनरी, प्रचार प्रसार लगायतका क्षेत्रमा ३ लाख ९५ हजार रुपैया खर्च भएको समन्वय परिषद सचिव विर्सना श्रेष्ठले बताईन ।
रैथाने खाना महोत्सव चैत २ र ३ गते शुनपा–५ बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको खुल्ला चौरमा महोत्सव आयोजना गरिएको थियो । महोत्सवस्थलमा ६ समुदायका मौलिक परम्परा घर निर्माण गरिएको थियो । शुक्लागण्डकीमा मगर, गुरुङ्ग, नेवार, भुजेल, कुमाल, तामाङ्ग, थकाली र राई समुदायको बसोबास रहेको छ । महोत्सवमा ती समुदायका विभिन्न रैथाने परिकारको स्वाद पकाएर विक्रि गरिएको थियो ।





