दुलेगौंडा, ८ चैत । चिसापानी साना किसान कृषि सहकारीको आयोजनामा स्याङजाको हरिनास गाउँपालिकामा २ दिने कृषि पशुपन्छी प्रदर्शनी मेला हुने भएको छ । आगामी चैत १३ र १४ गते हरिनास–२ चिसापानीमा पहिलो पटक प्रदर्शनी हुन लागेको सहकारीका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए ।
हरिनाश गाउँपालिकाको आर्थिक सहयोगमा हुन लागेको प्रदर्शनीमा स्थानीय कृषकहरुले उत्पादन गरेको तरकारी, अन्नबाली, बाख्रा, गाई, कुखुरा तथा कृषि प्रविधि र सामाग्रीहरुको प्रदर्शनी गरिने छ । सोहि अवसरमा भाले पशुमा बन्ध्याकरण सेवा, गोबर परीक्षण, पशुपन्छीको स्वास्थ्य परीक्षण, गर्भ परीक्षण, परामर्श सेवाका साथै निशुल्क औषधि वितरण गरिने पौडेलले बताए ।
वि.स. २०७७ सालमा स्थापना भएको सहकारीले वित्तीय साक्षरताको अलवा छरिएर रहेका पुँजीलाई एकत्रित गरि किसानलाई सहुलियत दरमा कर्जा लगानी, विउविजन, मल उपलब्ध गराउदै आएको छ । सहकारीमा हाल करिव ९ सय ४० सदस्य आवद्ध छन् । हाल वडा नं. १, २ र ३ नं. वडामा सेवा प्रदान गर्दै आइरहेको यस सहकारीले आगामी दिनमा अन्य वडामा समेत सेवा विस्तार गर्दैछ ।





