दुलेगौंडा, ६ चैत । ‘ग्लोबल मनि विक’ अन्तर्गत चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेडले हरिनास गाउँपालिका–१, छेक्मास्थित आधारभूत माध्यमिक विद्यालयमा वित्तीय साक्षरता सम्बन्धी तालिम शुक्रवार सम्पन्न गरेको छ ।
वित्तीय शिक्षाको महत्वका बारेमा जागरण ल्याउने उद्देश्यका साथ आयोजित तालिममा कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीका साथै शिक्षक तथा कर्मचरीहरूको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रममा सहकारीका अध्यक्ष प्रकाश पौडेलले विद्यार्थीहरूलाई सिकाई, बचत र कमाईबारे प्रस्ट पार्दै सानै उमेरदेखि सही वित्तीय ज्ञानको महत्वबारे प्रकाश पारे । उनले गरिबीको दुष्चक्रबाट मुक्त भई समृद्धिको मार्गमा अघि बढ्न वर्तमानदेखि नै योजना बनाउँदै जानुपर्नेमा जोड दिए ।
अध्यक्ष पौडेलले आम्दानीको मूल आधार “बिक्री” भएको उल्लेख गर्दै श्रम वा वस्तु तथा सेवा बिक्रीमार्फत मात्रै आय आर्जन सम्भव हुने भएकोले भविष्य सुरक्षित बनाउन आजैदेखि बचत, योजना र लगानीको अभ्यास गर्नुपर्ने बताए । कार्यक्रममा विद्यार्थीहरूलाई सानैदेखि बचत गर्ने बानीको विकास गर्न प्रोत्साहित गर्ने उद्देश्यले घरमै प्रयोग गर्न मिल्ने खुत्रुके वितरण गरिएको थियो।
चिसापानी साना किसान कृषि सहकारी संस्थाले ग्रामीण क्षेत्रका युवा तथा विद्यार्थीहरूलाई प्राथमिकतामा राख्दै विगत केही वर्षदेखि निरन्तर रूपमा वित्तीय साक्षरता तालिम, करियर काउन्सेलिङ तथा उद्यमशीलता विकाससम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।
वार्षिरुपमा मनाइने साप्ताहिक अभियान सन् २०१२ देखि हरेक वर्षको मार्चमा मनाउन सुरू गरिएको हो । विश्वका धेरै मुलुकमा यो सप्ताह मनाउने गरिन्छ । युवालाई वित्तीय ज्ञान, सीप र मनोवृत्तिका साथै व्यावहारिकरुपमा सक्षम बनाउँदै विवेकशील वित्तीय निर्णय गर्न अभिप्रेरित गर्ने र आर्थिक समृद्धिमा सघाउ पु¥याउने उद्देश्यले ‘ग्लोबल मनि विक’ सप्ताह केन्द्रित रहँदै आएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
‘ग्लोबल मनि विक’ को अवसरमा वित्तिय साक्षरता
७ चैत्र २०८२, शनिबार
Advertisment





