दुलेगौंडा, ४ फागुन । तनहुँको शुक्लागण्डकीमा आज र भोली एचपीभी खोप लगाइदै छ । एचपीभी खोल हाल विद्यालय जाने कक्षा ५ का छात्रा, विद्यालय नजाने १० वर्ष उमेरका किशोरी, गत आर्थिक वर्षमा छुट भएका हाल कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा र गत आर्थिक वर्षमा छुट भएका विद्यालय नजाने हाल ११ देखि १४ वर्ष उमेरका किशोरीलाई खोप प्रदान गरिने स्वास्थ्य शाखाले जनाएको छ । कक्षा ६ मा अध्ययनरत ४ सय ६० जना छात्रालाई २३ विद्यालयबाट खोप लगाइने छ । साथै विद्यालय बाहिरका ३ जनालाई खोप लगाईने छ । २३ विद्यालयमा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविकागरि ४६ जना खटिने छन् ।
एचपीभी खोप भनेको पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाउने खोप हो । यो क्यान्सर नेपाली महिलामा सबैभन्दा धेरै देखिएको छ । सबैभन्दा धेरै मृत्युको कारक पनि यही क्यान्सर हो । औसतमा दैनिक ६ जनामा यो क्यान्सर पत्ता लाग्ने गरेको छ । यही क्यान्सरका कारणले पनि दैनिक चार जनाको मृत्यु भइरहेको छ ।





