शुक्लागण्डकीका भुजेल मृत भेटिए, मोटरसाईकल क्रेनले आज निकालिने

दुलेगौंडा, ३ माघ । शुक्लागण्डकीका २६ वर्षीय संसार भुजेल मृत अवस्थामा फेला परेका छन् । शुक्लागण्डकी नगरपालिका–२ गाछेपानी स्थायी घर भई हाल वडा नं. ५ बेलचौतारामा बस्दै आएका भुजेल भिमादमा आयोजित भलिबल प्रतियोगिता हेरेर फर्कदा बेपत्ता भएका थिए ।
माघ १ गते अपराह्न करिब ४ बजे भिमाद नगरपालिका–६ स्थित रंगशालामा भलिबल खेल हेर्न जाने भन्दै ग १३ प ४०४२ नम्बरको बुलेट मोटरसाइकल चलाएर घरबाट निस्किएका थिए । तर उनी घर नफर्किएपछि उनका बुबाले भोलिपल्ट शुक्रवार अपराह्न इलाका प्रहरी कार्यालय बेलचौतारामा हुलिया निवेदन दिएका थिए । निवेदन प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले आफन्तको सहयोगमा खोजतलास गर्ने क्रममा शुक्रवार साँझ करिब ६ बजे तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद–बेलचौतारा भित्री सडकखण्डबाट करिब ४०–४५ मिटर तल रुपाकुना खोलाको खोँचमा मोटरसाइकलसहित भुजेलको शव फेला परेको हो । शव साँझ करिब ८ बजे घटनास्थलबाट बाहिर निकालेर पोस्टमार्टमका लागि प्रदेश अस्पताल दमौली पठाइएको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । धारापानी नजिकै रहेको सो साँघुरो र घुम्ति रहेको पुलमा यसअघि पनि मोटरसाईकल दुर्घटना भई मानवीय क्षति भएको थियो । दुर्घटनामा परेको मोटरसाईकल आज निकालिने प्रहरी निरिक्षक धननारायण श्रेष्ठले जानकारी दिए ।





