स्थानिय समाचार

शुक्लागण्डकीमा नाली फुटाएर फोहोर पानी मिसाइयो, घरधनीहरूको विवरण तयार पार्न निर्देशन

By Meropati
२०८३ अशोज २, शुक्रबार
शुक्लागण्डकीमा नाली फुटाएर फोहोर पानी मिसाइयो, घरधनीहरूको विवरण तयार पार्न निर्देशन

दुलेगौंडा, १६ पुष । मुग्लिन–पोखरा सडक आयोजना (पश्चिम खण्ड) ले शुक्लागण्डकी नगरपालिका भित्रका सडक छेउका घरधनीले जथाभावी नाली फुटाएर फोहोर पानी मिसाएको भन्दै आपत्ति जनाएको छ । एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा निर्माणाधीन जामुने–पोखरा खण्डअन्तर्गत खैरेनीटार, बेलचौतारा र दुलेगौंडा क्षेत्रमा स्थानीयले नवनिर्मित संरचना बिगारेपछि आयोजनाले नगरपालिकासँगै सम्बन्धित वडा कार्यालयहरूलाई पत्र पठाउँदै यस्तो कार्य रोक्न आग्रह गरेको हो ।

आयोजना प्रमुख कृष्णबहादुर कुँवरले मंसिर २१ गते शुक्लागण्डकी नगरपालिका र वडा नं. ४, ५, ६ र ७ का वडा कार्यालयलाई पत्र लेख्दै सार्वजनिक सम्पत्तिको नोक्सानी रोक्न पहलकदमीका लागि अनुरोध गरेका छन् । निर्माण व्यवसायीले बजार क्षेत्रमा ‘सर्भिस लेन’ बनाउँदै गर्दा स्थानीयले घरको ‘वेस्ट वाटर’ (फोहोर पानी) व्यवस्थापन गर्न भन्दै नाली फुटाउने र ‘सर्भिस लेन’ मा गाड्नका लागि खाडल खन्ने गरेको पाइएको छ ।
स्थानीयले ‘एचडिपिइ’ पाइपमार्फत घरको फोहोर पानी सडकको नालीमा जोड्ने गरेका छन् । यसका लागि उनीहरूले ‘सर्भिस लेन’ मा पाइप गाड्ने, नाली फुटाउने र निर्माण भइसकेको ‘सब–बेस’ समेत खन्ने गरेको आयोजनाले जनाएको छ । यस्तो क्रियाकलापले ‘सर्भिस लेन’ को दिगोपनामा असर पर्नुका साथै सार्वजनिक सम्पत्तिको क्षति भएको कुँवरले उल्लेख गरेका छन् ।
आयोजनाका अनुसार सडक छेउको नाली वर्षायामको पानी व्यवस्थापन गर्न मात्र डिजाइन गरिएको हो, घरबाट निस्कने फोहोर पानीका लागि होइन । हाल निर्माण गरिएको नालीमा ‘कभर’ को व्यवस्था नभएको (सुरक्षाका लागि डब्लु–बिम क्र्यास ब्यारियर मात्र राखिएको) हुनाले फोहोर पानी नालीमा मिसाउँदा जम्ने, दुर्गन्ध फैलिने र अन्य रोगहरू लाग्ने जोखिम हुन्छ ।
नगरपालिकाको अग्रसरतामा घरधनीले नै आफ्नो पानीको व्यवस्थापन गर्ने गरी पटकपटक छलफल भएको र पत्रमार्फत अनुरोध गरिएको भए पनि स्थानीयले अटेर गरेको आयोजनाको गुनासो छ । आयोजनाको अनुमतिबिना सडक खन्ने र सार्वजनिक सम्पत्तिमा नोक्सानी पु¥याउने कार्य सार्वजनिक सडक ऐन २०३१ विपरीत रहेको भन्दै आयोजनाले सचेत गराएको छ ।
साथै, आयोजनाले परामर्शदाता कम्पनीलाई सडकको नाली फुटाएर घरको फोहोर पानी मिसाउने घरधनीहरूको विवरण तयार पार्न निर्देशनसमेत दिएको छ । शुक्लागण्डकीको बेलचौतारा क्षेत्रमा सर्भिस लेनको काम सकिएर फुटपाथको काम भइरहेको छ । दुलेगौंडा क्षेत्रमा भने सर्भिस लेनमा पिचको काम हुन सकेको छैन ।

0 SHARES
सेयर गर्नुहोस्: